काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको छ। बाढीपछि रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा अहिलेसम्म ७२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये अधिकांशको पहिचान खुल्न बाँकी छ। शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
बाढीमा परेका २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। बुधबार बिहान करिब ९ बजेतिर चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशीमा मिसिएपछि ठूलो जनधनको क्षति भएको हो।
बाढीका कारण रसुवाको टिमुरे र मैलुङ क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोज तथा उद्धारलाई तीव्रता दिएका छन्।
नेपाली सेनाका अनुसार हेलिकप्टरमार्फत रसुवाबाट अहिलेसम्म ८८ जनाको उद्धार गरिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उद्धार कार्यमा ६ वटा हेलिकप्टर परिचालन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।















