डडेल्धुरा । रसुवामा आएको बाढीमा परी डडेल्धुराका १४ जना नागरिक सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । डडेल्धुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. तारा जोशीको सचिवालयलाई प्राप्त जानकारीअनुसार जिल्लाका विभिन्न स्थानीय तहका १४ जना रसुवा बाढीपछि सम्पर्कमा नआएका हुन ।
सम्पर्कविहीन हुनेमा अमरगढी नगरपालिकाका शेर शाहु, गन्यापधुरा गाउँपालिकाका हिक्मत पाल र सुल्तान महता, नवदुर्गा गाउँपालिकाका प्रशान्त ऐर तथा आलिताल गाउँपालिकाका उमेश बुढा रहेका छन ।
यस्तै आलिताल गाउँपालिकाकै लक्ष्मण रामजाली, गौतम रामजाली, गोविन्द रामजाली, सुन्दर बुढा मगर, दिनेश रामजाली, दीपक धर्ती मगर, राजेश धर्ती मगर, किरण धर्ती मगर र चन्द्र जधारी मगर सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
जोशीको सचिवालयको विवरणअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी आलिताल गाउँपालिकाका १० जना छन । यस्तै गन्यापधुराका दुई तथा नवदुर्गा र अमरगढीका एक–एक जना रहेका छन । यस अघि भागेश्वर गाउँपालिकाका मदनराज भट्ट सम्पर्क बिहिन रहेको भनिए पनि बुधबार राति सम्पर्कमा आएको उहाँका आफन्तहरुले सामाजिक संजालमा पोष्ट गरेका छन ।
सम्पर्क बिहिन हुनेहरुमा केही नेपाली सेना, जलबिद्युत आयोजनामा कार्यरत अमिन, ओभरसेयर र अन्य कामदारहरु रहेको उनका आफन्तजनहरुले जानकारी दिएका छन ।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी मृत्यु तथा बेपत्ता हुनेको संख्या बढ्दै गएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ ।
डडेल्धुराबाट रसुवा पुगेका नागरिकको अवस्था यकिन गर्न सम्बन्धित परिवार तथा स्थानीय तहले खोजी तथा समन्वय गरिरहेका छन । सम्पर्कविहीन भनिएका व्यक्तिहरूको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको जनाइएको छ ।















