डडेल्धुरा । डडेल्धुरामा क्रियाशील गैरसरकारी संस्था बहुउद्देश्यीय विकास समाज (एमपीडीएस) ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ४ हजार ५७ रुपैयाँ सहयोग गरेको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै एमपीडीएसले राहत रकम सहयोग गरेको हो।
बाढी प्रभावित नागरिकको तत्काल उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको संस्थाले जनाएको छ।
एमपीडीएस डडेल्धुराका कार्यकारी निर्देशक प्रेमबहादुर महरका अनुसार संस्थाका विभिन्न परियोजनामा कार्यरत कर्मचारी तथा संस्थाको स्वेच्छिक योगदानबाट उक्त रकम संकलन गरिएको हो। विपद्को कठिन परिस्थितिमा पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कर्मचारी तथा संस्थाले स्वेच्छिक रूपमा राहत रकम जुटाएका हुन्।
संकलित रकम बैंकिङ प्रणालीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कार्यकारी निर्देशक महरले जानकारी दिए। उनका अनुसार उक्त रकम बाढी प्रभावित नागरिकको उद्धार, उपचार, राहत वितरण तथा पुनःस्थापनामा उपयोग हुने विश्वास गरिएको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न स्थानमा ठूलो जनधनको क्षति हुनुका साथै कतिपय नागरिक सम्पर्कविहीन तथा बेपत्ता भएका थिए। प्रभावित परिवारहरू तत्कालीन राहत, स्वास्थ्य उपचार, सुरक्षित आवास तथा पुनःस्थापनाको पर्खाइमा रहेका बेला एमपीडीएसले गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही योगदान पुग्ने अपेक्षा गरिएको छ।
एमपीडीएसले बाढीका कारण सम्पर्कविहीन तथा बेपत्ता भएका नागरिकको शीघ्र खोजी तथा उद्धार गरी परिवारसँग पुनर्मिलन होस् भन्ने कामना गरेको छ। साथै, बाढीमा परी घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गरेको जनाएको छ।
कार्यकारी निर्देशक महरले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारको मात्र प्रयास पर्याप्त नहुने बताए। उनले सबै सरोकारवाला निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकलाई सहयोगमा जुट्न आग्रह गरे।
विपद्का बेला उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन, वास्तविक पीडितको पहिचान तथा राहत वितरणमा पारदर्शिता कायम गर्नुपर्नेमा महरले जोड दिए। प्रभावित नागरिकको जीवनलाई सामान्य अवस्थामा फर्काउन दीर्घकालीन पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
एमपीडीएसले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको जनाएको छ। बाढीपीडितका लागि गरिएको सहयोग संस्थाको सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनशीलताको निरन्तरता भएको एमपीडीएसले स्पष्ट पारेको छ।















