काठमाडौं । पछिल्लो २४ घण्टामा कञ्चनपुर, सिन्धुपाल्चोक र अर्घाखाँचीका केही स्थानसँगै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी १४१ मिलिमिटर वर्षा मापन भएको छ । मौसम विज्ञानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनुलाई धेरै भारी वर्षा मानिन्छ ।
कञ्चनपुरमा शनिबारदेखि आइतबार बिहानसम्म वर्षा भइरहेको विभागले जनाएको छ । त्यस्तै, धादिङ र गोरखाको सीमा क्षेत्रमा पनि धेरै भारी वर्षा भएको छ । आरुघाटस्थित वर्षा मापन केन्द्रमा १२४.४ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ । सिन्धुपाल्चोकमा १२३.२ मिलिमिटर र अर्घाखाँचीमा ११५.२ मिलिमिटर वर्षा भएको छ । पछिल्ला केही दिनदेखि सिन्धुपाल्चोकमा निरन्तर मध्यमदेखि धेरै भारी वर्षा भइरहेको विभागको भनाइ छ ।
पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशका केही जिल्लासहित गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा पनि भारी वर्षा भएको छ । अन्य क्षेत्रमा भने मध्यमदेखि सामान्य वर्षा मापन भएको छ । आइतबार बिहान यी क्षेत्रमा वर्षा क्रमशः कम हुँदै गएको विभागले जनाएको छ ।
लगातारको वर्षाका कारण धेरै वर्षा भएका जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम बढेको छ । विशेषगरी कञ्चनपुर र अर्घाखाँचीका नदी तथा खोलामा बाढीको जोखिम रहेको विभागले जनाएको छ । विभागले ती क्षेत्रका नदी तथा खोला आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
मौसम विज्ञानअनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भएमा भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म भएमा धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा भएको मानिन्छ ।















