काठमाडौं । भोटेकोशी नदीमा आइतबार बिहानदेखि पानीको बहाव फेरि बढेपछि रसुवादेखि चितवनसम्मका प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । खोज, उद्धार तथा राहतमा खटिएका टोलीसहित नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ ।
भोटेकोशीमा बाढीको बहाव केही बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्राधिकरणले सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्ता तथा अन्य सम्बन्धित व्यक्तिलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
यसअघि तिब्बततर्फबाट आएको बाढीमा परी प्रभावित भएकाहरूको खोज तथा उद्धार कार्य जारी रहेकै बेला भोटेकोशीमा पुनः पानीको बहाव बढेको हो ।
प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय तथा प्रभावित क्षेत्रमा रहेका नागरिकलाई समेत सतर्क रहन आग्रह गरेको छ ।
यस्तै, बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा करिब ३ मिटर माथि पुगेको छ ।
भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढिरहेकाले नदी आसपासका क्षेत्रमा थप जोखिम हुनसक्ने भन्दै उद्धार तथा राहतमा खटिएका टोली र स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।















