बाढीमा फेला परेका पहिचान नखुलेका शव अस्थायी रूपमा गाडिँदै

Image

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा फेला परेका ठूलो संख्याका पहिचान नखुलेका शवलाई संक्रमण र दुर्गन्ध फैलिन नदिन अस्थायी रूपमा जमिनमुनि गाडिने भएको छ। उपलब्ध शवगृह तथा चिस्यानयुक्त भण्डारण क्षमता अपुग भएपछि सरकारले यस्तो निर्णय गरेको हो।

शव गाड्नुअघि प्रत्येकको फोटो, शारीरिक चिन्ह, कपडा तथा अन्य विवरण अभिलेख गरिनेछ। साथै डीएनए नमुना संकलन गरी युनिक पहिचान नम्बर दिइने र गाडिएको स्थानको समेत अभिलेख राखिनेछ।

यो अन्तिम संस्कार नभई पहिचान नखुलेसम्मका लागि अस्थायी संरक्षणको प्रक्रिया हो। भविष्यमा आफन्तले दाबी गरेमा डीएनए परीक्षण तथा अन्य प्रमाणका आधारमा पहिचान पुष्टि गरी शव उत्खनन् गरेर परिवारलाई बुझाउन सकिने व्यवस्था गरिएको छ।

माटोमुनि गाड्दा शव कुहिने प्रक्रिया पूर्ण रूपमा रोकिने भने होइन। तर खुला ठाउँमा राखिएको तुलनामा विघटनको गति केही कम हुने फरेन्सिक विशेषज्ञहरूको भनाइ छ।

नेपालमा २०७२ सालको भूकम्पपछि पनि पहिचान नखुलेका शव अस्थायी रूपमा गाडिएको उदाहरण छ। त्यतिबेला डीएनए परीक्षणबाट केही शवको पहिचान गरी आफन्तलाई बुझाइएको थियो।