चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ।
भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गलमा आइतबार रातिसम्म १९९ शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म चितवनमा २७२ शव फेला परेका छन्। तीमध्ये १९९ शवको व्यवस्थापन गरिएको छ भने १२ शवको सनाखत भएको छ।
सनाखत हुन नसकेका शवको डिएनए नमूना सुरक्षित राखेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव व्यवस्थापन गरिएको स्थानमा पहिचान खुल्ने गरी सङ्केत चिह्नसमेत राखिएको छ।
पछि बेपत्ता व्यक्तिका परिवारसँग गरिएको डिएनए परीक्षण मिलेको अवस्थामा व्यवस्थापन गरिएको स्थानबाट शवको पहिचान गरी परिवारलाई बुझाउन सकिने गरी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।
सनाखत भएका शवको परीक्षणपछि परिवारले बुझेर लगेका छन्।
प्रहरीका अनुसार चितवनमा फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ वटा मानव अवशेष रहेका छन्।
नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा खोजी तथा शव व्यवस्थापनमा परिचालन गरिएको छ।
भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेका शव चितवनका विभिन्न स्थानमा भेटिने क्रम जारी रहेको प्रहरीले जनाएको छ।











