काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार कार्यलाई तीव्रता दिइएको छ। नेपाली सेनाले मात्रै ३ हजार ३४४ नेपाली र २५२ विदेशी नागरिकको हवाई उद्धार गरेको छ। भदौ १४ गते हाइड्रोपावर क्षेत्रमा फसेका १५ चिनियाँ र सात भारतीय नागरिकको समेत उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हालसम्म ४११ पटक हवाई उडान गरिएको छ। उद्धारसँगै बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी कार्यलाई समेत तीव्रता दिइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन छन्।
बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन्।
खोज तथा उद्धारमा नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ७२२ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ गरी २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
यसैबीच, बाढी प्रभावित नागरिकका लागि खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने कामलाई पनि निरन्तरता दिइएको प्रवक्ता महतले जानकारी दिए।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै सम्पर्कविहीन व्यक्तिहरूको खोजी र क्षतिको विवरण सङ्कलन गर्ने कार्यसमेत जारी छ।











