बैतडी । दार्चुलाको पनेबाजमा पहिरो खसेपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ। सोमबार दिउँसो करिब साढे २ बजे पहिरो खसेपछि राजमार्गमा यातायात सेवा ठप्प भएको हो। राजमार्ग अवरुद्ध भएसँगै दार्चुलाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। पहिरोका कारण यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन्।
सडक डिभिजन कार्यालय बैतडीका अनुसार पनेबाजमा पहिरो निरन्तर झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम सुरु गर्न सकिएको छैन। कार्यालयका सूचना अधिकारी कपिलप्रसाद पन्तले पहिरो झर्ने क्रम रोकिएपछि मात्रै सडक खुलाउने काम अघि बढाइने जानकारी दिए।
पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउन आवश्यक तयारी गरिएको भए पनि पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन केही समय लाग्न सक्ने कार्यालयले जनाएको छ।
राजमार्ग अवरुद्ध हुँदा दार्चुला आवतजावत गर्ने यात्रुहरू प्रभावित भएका छन्। सडक खुलाउन पहिरो रोकिएलगत्तै आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरिने सडक डिभिजन कार्यालयले जनाएको छ।











