पृथ्वी राजमार्ग बन्द भएपछि बीपीमा बढ्दैछ ठूला सवारीको जोखिम, राति चलाउन सुझाव

Image

बनेपा । त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा रहेको बीपी राजमार्गमा ठूला सवारीको चाप बढ्ने भएको छ।

पृथ्वी राजमार्गका कृष्णभीरलगायत विभिन्न स्थानमा बाढीले सडक कटान गरेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो। राजमार्ग बन्द भएपछि पूर्वी पहाडी तथा तराईका जिल्लाबाट काठमाडौं भित्रिने रात्रि बस तथा मालवाहक सवारी बीपी राजमार्गतर्फ मोडिन सक्ने सडक डिभिजन भक्तपुरले जनाएको छ।

सडक डिभिजन भक्तपुरका डिभिजन प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार बीपी राजमार्गले एकैपटक ठूलो संख्यामा यात्रुवाहक तथा मालवाहक सवारी धान्न सक्ने अवस्था छैन।

उनका अनुसार ठूला रात्रि बस, मालवाहक सवारी तथा ग्यास बुलेटको चाप बढे काभ्रेपलाञ्चोकतर्फ धुलिखेल–भकुण्डेबेँसी र सिन्धुलीतर्फ खुर्कोट–चियाबारी सडकखण्डका साँघुरा घुम्तीमा समस्या आउन सक्छ।

बीपी राजमार्गमा हाल बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण भइरहेको छ। पुनर्निर्माणका क्रममा ठूला उपकरण लैजाँदा समेत साँघुरा घुम्तीमा घण्टौँसम्म जाम हुने गरेको भन्दै दिउँसो ठूला सवारी सञ्चालन गर्न कठिन हुने योगेशले बताए।

दिउँसो साना सवारीको चाप बढी हुने भएकाले ठूला सवारी सञ्चालन गर्नैपर्ने अवस्था आए रातिको समयमा अन्य सवारीलाई केही समय रोकेर रात्रि बस तथा मालवाहक सवारी सञ्चालन गर्न सकिने उनको भनाइ छ।

पृथ्वी राजमार्ग लामो समय बन्द हुने सम्भावना रहेकाले ग्यास बुलेट सञ्चालनका लागि समेत वैकल्पिक व्यवस्था खोजिँदैछ। कान्ति लोकपथ र त्रिभुवन राजपथ हुँदै ग्यास बुलेट ल्याउन कठिन हुने तथा बीपी राजमार्गका साँघुरा घुम्तीमा समेत दुईतर्फी सवारी सञ्चालनमा समस्या हुनसक्ने सडक डिभिजनले जनाएको छ।

ग्यास बुलेटका चालकलाई सडकको स्थलगत अनुगमन गराएर मात्रै बीपी राजमार्गबाट सञ्चालन गर्न सकिने वा नसकिने निर्णय गरिने योगेशले बताए।

उनका अनुसार आवश्यक परे राजमार्गको पुनर्निर्माण कार्य केही समय रोकेर पुरानो ट्र्याकबाट रातिको समयमा ग्यास बुलेट सञ्चालन गर्ने विकल्पसमेत अपनाउन सकिन्छ।

पृथ्वी राजमार्ग खुल्न एक महिनाभन्दा बढी लाग्न सक्ने

बाढीबाट क्षतिग्रस्त पृथ्वी राजमार्ग सञ्चालनमा आउन एक महिनाभन्दा बढी समय लाग्न सक्ने सडक डिभिजनको अनुमान छ। त्यसकारण लामो समयसम्म वैकल्पिक सडकमा सवारीको चाप व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ।

पृथ्वी राजमार्ग बन्द भएपछि कान्ति लोकपथ र त्रिभुवन राजपथमा समेत पश्चिम तथा पूर्वी क्षेत्रबाट आउने सवारीको चाप बढ्न सक्ने सडक डिभिजनले जनाएको छ।

जापानी सहयोगमा निर्माण भएको बीपी राजमार्ग

काठमाडौंलाई तराईसँग जोड्ने बनेपा–सिन्धुली–बर्दिबास सडकको अवधारणा विसं १९६० तिरै अघि सारिएको थियो। त्रिभुवन राजपथ निर्माणपछि उक्त सडकको काम रोकिएको थियो।

विसं २०५० को भीषण वर्षाले त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा ठूलो क्षति पुर्‍याएपछि वैकल्पिक मार्गका रूपमा बीपी राजमार्ग निर्माणको योजना अघि बढाइएको थियो। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु भएको यो राजमार्ग विसं २०७२ मा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।