दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा फेरि पहिरो गएको छ । पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरोले नदीको केही भाग पुरिएको छ । पहिरो खस्ने क्रम जारी रहेकाले नदी थुनिन सक्ने जोखिम बढेको छ ।
नदीको बहाव प्रभावित भएपछि चौलानी नदी किनारमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारका बस्तीमा सचेत गराउने तयारी भइरहेको प्रजिअ पौडेलले बताए ।
“पहिरो गएको क्षेत्रमा क्षतिको आधिकारिक विवरण आएको छैन । प्रहरी टोली त्यसतर्फ गइसकेको छ,” पौडेलले भने ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै माथिबाट आएको पहिरोले चौलानी नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम नरोकिएकाले नदी थुनिन सक्ने सम्भावना रहेको जनाएको छ ।
प्रशासनले नदी किनार तथा आसपासका बस्तीका स्थानीयलाई विशेष सतर्कता अपनाउन र नदीको बहावमा असामान्य परिवर्तन देखिए तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।













