११ दिनपछि दुई स्थानबाट जीवित उद्धारः टनेलमा फसेका चिनियाँ नागरिक र हिलोमा पुरिएकी चण्डिका श्रेष्ठ सकुशल

Image

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि ११ दिनदेखि सम्पर्कविहीन रहेका दुई जनाको शनिबार जीवितै उद्धार गरिएको छ। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा फसेका एक चिनियाँ नागरिक र नुवाकोटको बेत्रावतीमा हिलोमा थुनिएकी करिब ६० वर्षीया चण्डिका श्रेष्ठको छुट्टाछुट्टै स्थानबाट उद्धार गरिएको हो।

बाढीबाट प्रभावित २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक चिनियाँ नागरिकको नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त रूपमा सकुशल उद्धार गरेको हो।

लामो समयदेखि टनेलभित्र फसेका ती नागरिकलाई उद्धार गरेपछि उपचार तथा स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकतर्फ ल्याइएको जनाइएको छ।

बाढी गएको ११औँ दिनमा टनेलभित्रबाट जीवित व्यक्तिको उद्धार भएपछि खोज तथा उद्धारमा खटिएको टोलीले महत्वपूर्ण सफलता हासिल गरेको छ। टनेलभित्र फसेका व्यक्तिको अवस्था र उनी कति समयदेखि त्यहाँ रहेको भन्नेबारे थप विवरण आउन बाँकी छ।

यसैबीच, भोटेकोशी बाढीपछि बेपत्ता रहेकी अन्दाजी ६० वर्षीया चण्डिका श्रेष्ठको पनि ११ दिनपछि जीवितै उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार श्रेष्ठलाई नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित चारतले घरबाट शनिबार उद्धार गरिएको हो।

श्रेष्ठ हिलोमा थुनिएको अवस्थामा फेला परेकी थिइन्। उद्धारपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत त्रिशूली लगिएको प्रवक्ता कार्कीले जानकारी दिए।

भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भएको र अझै पनि केही व्यक्ति सम्पर्कविहीन रहेको अवस्थामा ११ दिनपछि दुई जनालाई जीवितै उद्धार गरिनुले खोज तथा उद्धार अभियानमा आशा थपिएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न विज्ञ टोलीले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेका छन्।