बाजुरा । अविरल वर्षापछि आएको भीषण बाढीले बाजुराको बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरेखोला क्षेत्र प्रभावित भएको छ । बाढीका कारण २३ परिवार विस्थापित भएका छन् भने थप १८ परिवार जोखिममा परेका छन् ।
गएरातिदेखि परेको अविरल वर्षापछि माथिल्लो क्षेत्रमा पहिरो गएर खोला थुनिएको र ताल बनेपछि ताल फुट्दा एक्कासि ठूलो बाढी आएको स्थानीय लालसिंह साउदले बताए ।
उनका अनुसार राति करिब ८ बजे अचानक ठूलो बाढी आएपछि स्थानीय घरबाट बाहिर निस्कन बाध्य भएका थिए । ‘अहिलेसम्म न खाना छ, न त बास,’ उनले बताए ।
बाढीबाट मानवीय क्षति नभए पनि गाउँको बीचबाटै ठूलो भेल पसेपछि २३ परिवार विस्थापित भएका छन् । बाढीका कारण ४१ परिवार प्रभावित भएको बडीमालिका नगरपालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालले बताए ।
उनका अनुसार बाढीले एउटा माछा पोखरी, दुईवटा पानी घट्ट र वीरेखोला झरनाको टिकट काउन्टरमा क्षति पुर्याएको छ । धानबाली बगाएपछि खेतीयोग्य जमिन बगरमा परिणत भएको उनले बताए ।
बाढीबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाले तत्कालै २३ विस्थापित परिवारलाई त्रिपाल उपलब्ध गराएको रेडक्रस बाजुरा शाखाका उपमन्त्री बिपीन विष्टले बताए ।
पाँच वर्षअघिको बाढीको घाउ फेरि बल्झियो
वीरेखोलाका बासिन्दाका लागि बाढीको जोखिम नयाँ होइन । विसं २०७७ साउन २५ गते बुढीगङ्गा नदीमा आएको बाढीले यहाँको ठूलो क्षेत्रको खेतीयोग्य जमिन बगाएको थियो ।
पुस्तौँदेखि खेती गर्दै आएको जमिन बालुवा र ढुङ्गाले पुरिएपछि स्थानीयले जीविकोपार्जनको आधार गुमाएका थिए । बाढीपछि नदी आफ्नो पुरानै धारमा फर्किए पनि त्यसले छाडेको क्षति र त्रास भने कायमै रह्यो ।
अहिलेको बाढीले पाँच वर्षअघिको त्यही डरलाई फेरि बल्झाइदिएको स्थानीय कली साउदले बताए । उनका अनुसार खेतीयोग्य जमिन गुमिसकेको अवस्थामा अहिले घरबाससमेत जोखिममा परेको छ ।
‘एकातिर खेतीयोग्य जमिन गुमेको पीडा छ, अर्कोतिर घरबास नै सुरक्षित नरहने अवस्था छ,’ उनले बताए, ‘नदी कटान र बाढीको जोखिम बढ्दै गएपछि अब कहाँ बस्ने, के खाने भन्ने ठूलो सङ्कट भएको छ ।’
पर्यटकीय झरनासँगै बढ्छ त्रास
सदरमुकाम मार्तडीबाट करिब ६ किलोमिटर टाढा रहेको वीरेखोला झरना आन्तरिक पर्यटकको आकर्षणको केन्द्र हो । वर्षायाममा झरना हेर्न तथा फोटो–भिडियो खिच्न जिल्लाका विभिन्न स्थानसँगै छिमेकी अछामबाट समेत पर्यटक पुग्ने गर्छन् । तर यही झरना र बुढीगङ्गा नदी वर्षायाममा स्थानीयका लागि त्रासको कारण बन्ने गरेको स्थानीय मतिकला खड्काले बताइन् ।
‘घरआँगनमै बुढीगङ्गा नदी बग्छ, गाउँकै बीचमा वीरेखोला बगिरहेको छ,’ उनले बताइन्, ‘आँगनबाट नदीको कटान र पछाडिबाट खोलाले कतिखेर बगाउँछ भन्ने चिन्ता हुन्छ । यसअघि पटकपटकको बाढीले खेतीयोग्य जमिन बगर भइसक्यो । अब कुन दिन घरसँगै हामीलाई बगाउने हो भन्ने डर छ ।’
‘खेत रहेन, अब घर पनि सुरक्षित छैन’
कृषिमा निर्भर परिवारका लागि खेतीयोग्य जमिन नै जीविकोपार्जनको मुख्य आधार हो । २०७७ सालको बाढीले खेत बगर बनाएपछि धेरै परिवारले उत्पादनको आधार गुमाएका थिए । अहिले फेरि बाढीले घरबाससमेत जोखिममा पारेपछि समस्या झन् गम्भीर बनेको स्थानीय कमला साउँदले बताइन् ।
‘खेत रहेन, अब घर पनि सुरक्षित छैन,’ उनले बताइन्, ‘कहाँ गएर बस्ने ? अन्त कतै ठाउँ छैन ।’ वर्षौँदेखि नदी कटान र बाढीको जोखिममा रहेका वीरेखोलाका बासिन्दासामु अहिले फेरि पुरानै प्रश्न उभिएको छ—पहिले खेत गुम्यो, अब घर पनि गुम्ने हो कि ?
तत्कालका लागि २३ परिवारलाई सुरक्षित स्थानमा सारिए पनि वीरेखोलाको दीर्घकालीन जोखिम कायमै रहेको बडीमालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बाढीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन तथा घटनाबारे थप बुझ्ने काम भइरहेको बताए ।











