धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा भइरहेको वर्षा अझै तीन दिनसम्म जारी रहने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले हिमाल, पहाड र तराईका अधिकांश क्षेत्रमा मौसम बदली रहने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।
कार्यालयका प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार सोमबारदेखि २४ गतेसम्म प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
सोमबार पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । दिउँसो हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराईका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको कार्यालयले जनाएको छ ।
सोमबार राति पनि हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराईका केही स्थानमा मध्यम वर्षा हुनसक्ने र पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको साहले बताउनुभयो ।
मङ्गलबार भने वर्षाको दायरा केही घट्ने भए पनि मौसम पूर्णरूपमा खुल्ने सम्भावना कम रहेको छ । हिमाली तथा पहाडी क्षेत्रमा थोरैदेखि धेरै स्थान र तराईका केही क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । मङ्गलबार राति भने प्रदेशका तीनै भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको कार्यालयले जनाएको छ ।
लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा तराईका केही स्थानमा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम कार्यालयले आग्रह गरेको छ ।













