बाजुरा । लगातारको वर्षापछि गएको पहिरोले ३२ वटा विद्युत् खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ । शनिबार रातिदेखि जिल्लाभर विद्युत् आपूर्ति बन्द हुँदा सदरमुकाम मार्तडीसहित विभिन्न क्षेत्रका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । बडीमालिका नगरपालिका–८ अन्तर्गत सुवाकाँध, वीरेखोला र नुनेपानी क्षेत्रमा गएको पहिरोले विद्युत्का खम्बा ढालेपछि राष्ट्रिय प्रसारण लाइन अवरुद्ध भएको हो ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका निमित्त प्रमुख लोकराज जोशीका अनुसार सुवाकाँधमा सडकमाथिबाट खसेको पहिरोले सातवटा र वीरेखोला क्षेत्रमा २५ वटा विद्युत् खम्बा ढालेको छ । उनका अनुसार शनिबार राति करिब ९ बजेदेखि जिल्लामा विद्युत् सेवा बन्द छ ।
अवरुद्ध सेवा सञ्चालनका लागि आइतबार दिनभर प्राविधिक टोली परिचालन गरिएको थियो । तर, पुनः वर्षा सुरु भएपछि टोली कार्यक्षेत्रबाट फर्किनुपरेको जोशीले जानकारी दिए । बाजुरामा अछामबाट सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ । लगातारको वर्षासँगै साँफे–मार्तडी सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा विद्युत्का खम्बा र प्रसारण लाइनमा क्षति पुगेको हो ।
विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालय, व्यवसाय, सञ्चार सेवा तथा दैनिक कामकाजसमेत प्रभावित भएका छन् । यस्तै, अविरल वर्षाका कारण साँफे–मार्तडी सडकखण्ड पनि ठाउँ–ठाउँमा पहिरोले अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याए पनि पुनः भारी वर्षा हुँदा सडक अवरुद्ध हुने क्रम दोहोरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोलीले काम गर्ने तयारी गरे पनि लगातारको वर्षा र पहिरोका कारण चुनौती देखिएको छ ।













