दार्चुला । महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुलको नेपालतर्फ राखिएको साइनबोर्डमा भारतीय ठेगाना उल्लेख गरिएको विषयलाई लिएर दार्चुलामा विरोध भएको छ ।
महाकाली नगरपालिका–८, असिगडा क्षेत्रमा पर्ने पुलको नेपालतर्फ राखिएको ‘नेपाल–भारत मैत्री सेतु’ लेखिएको साइनबोर्डमा ठेगानाका रूपमा ‘काली नदी, छारछुम’ उल्लेख गरिएको छ । छारछुम भारतको धारचुला तहसिलअन्तर्गतको क्षेत्र हो ।
नेपालको भूभागमा राखिएको बोर्डमा भारतीय ठेगाना उल्लेख गरिएको भन्दै राजनीतिक दल, पत्रकार तथा स्थानीय नागरिकले आपत्ति जनाएका छन् । उनीहरूले तत्काल साइनबोर्ड सच्याउन माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका सभापति राजेशसिंह सामन्तले नेपाली क्षेत्रमा राखिएको साइनबोर्डमा नेपालको ठेगाना उल्लेख हुनुपर्नेमा भारतीय ठेगाना राखिनु गम्भीर विषय भएको बताए । उनले यसबारे परराष्ट्र मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दार्चुलालाई जानकारी गराउँदै तत्काल सच्याउन आग्रह गरिएको बताए ।
सीमाक्षेत्रसँग जोडिएको विषय भएकाले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर परराष्ट्र मन्त्रालयमार्फत भारतसँग आवश्यक समन्वय गर्नुपर्ने उनको भनाइ छ ।
स्थानीय रवि धामीले नेपाल–भारतबीचको सहकार्य र सम्झौताअनुसार निर्माण भएको पुलमा राखिने बोर्ड, लोगो र भाषाका विषयमा स्पष्ट मापदण्ड आवश्यक रहेको बताए ।
यता, दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले साइनबोर्डमा देखिएको त्रुटिबारे भारतको धारचुलाका एसडीएम आशिषकुमार जोशीसँग कुराकानी भएको बताए । उनका अनुसार भारतीय पक्षबाट त्रुटि सच्याउने जानकारी दिइएको छ ।
पुल निर्माणमा संलग्न निर्माण कम्पनीका सबइन्जिनियर हेम पाण्डेले पनि साइनबोर्ड छपाउने क्रममा त्रुटि भएको स्वीकार गर्दै तत्काल सच्याउने प्रक्रिया अघि बढाइएको बताए ।













