पाकेको धान भित्र्याउन बाजुराका किसानलाई चटारो, वर्षाले बढायो चिन्ता

Image

बाजुरा । बाजुराका किसानलाई यतिबेला पाकेको धान काटेर घर भित्र्याउने चटारो परेको छ। भदौको दोस्रो सातादेखि चैत–वैशाखमा पाखो जमिनमा लगाइएको धान पाक्न थालेपछि किसान बिहानदेखि दिउँसोसम्म खेतबारीमै व्यस्त छन्। धान पाकेर पहेँलिएको र कतिपय ठाउँमा झर्नसमेत थालेपछि किसानलाई समयमै बाली भित्र्याउने हतारो छ। तर लगातार भइरहेको वर्षाका कारण पाकेको धानसँगै परालसमेत सुरक्षित रूपमा घरमा ल्याउन समस्या भइरहेको छ।

बुढीगङ्गा नगरपालिका–१० की दुर्गा नेपालीका अनुसार चैत–वैशाखमा लगाइएको धान भदौमा पाक्ने गर्छ। यही समयमा घरमा खाद्यान्नको अभाव हुने भएकाले पाखो जमिनमा लगाइएको धानले केही समयको खाद्यान्न आवश्यकता टार्न सहयोग गर्छ।

“भदौमा घरमा खाद्यान्नको अभाव हुने गर्छ। त्यो अभाव टार्न चैत–वैशाखमा पाखो जमिनमा धान खेती लगाउने गरिन्छ,” नेपालीले भनिन्, “धान पाक्ने बेलामै पानी पर्न थालेपछि बाली घरमा भित्र्याउन समस्या हुन्छ।”

बाजुराका हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, गौमुल, बडीमालिका, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहलगायतका स्थानीय तहमा पाखो जमिनमा लगाइएको धान अहिले पाकेको छ।

धान काटेर चुटेपछि घरसम्म ल्याउनुपर्ने भएकाले वर्षाका कारण किसानलाई थप समस्या भएको छ। घरभन्दा माथि तथा टाढाका पाखो जमिनमा धान खेती हुने भएकाले बाढीपहिरोका कारण बाटो बिग्रिँदा बाली ओसार्न झनै कठिन भएको किसानको भनाइ छ।

कतिपय क्षेत्रमा धान काटेर खेतमै थन्क्याउनुपर्ने अवस्था आएको छ। वर्षा रोकिएर घाम लाग्ने समय छोटो हुँदा काटेको धान सुकाउने र पराल सुरक्षित राख्ने समस्या पनि थपिएको छ।

बाजुरामा कुल २ लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये करिब २२ हजार हेक्टर मात्र खेतीयोग्य जमिन रहेको छ। जिल्लामा ६ हजार ९१५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी प्रेमराज न्यौपानेका अनुसार जिल्लामा धानको उत्पादकत्व प्रतिहेक्टर १.९ मेट्रिक टन रहेको छ।

पाखो जमिनमा उत्पादन हुने धान बाजुराका ग्रामीण परिवारका लागि खाद्यान्नको महत्वपूर्ण आधार मानिन्छ। वर्षाले बाली भित्र्याउन समस्या बढाएपछि किसान भने पाकेको धान जोगाउन मौसम खुल्ने प्रतीक्षामा छन्।