दुई वर्षदेखि अध्यक्षविहीन पोखरा खानेपानी समिति, योजना जीर्ण बन्दै

Image

डडेल्धुरा । अमरगढी नगरपालिका–७ पोखराको खानेपानी तथा उपभोक्ता समिति दुई वर्षदेखि अध्यक्षविहीन हुँदा खानेपानी योजना अस्तव्यस्त बन्दै गएको छ । तत्कालीन अध्यक्ष टेक भण्डारी जेल चलान भएपछि समिति नेतृत्वविहीन बनेको हो । ६०४ घरधुरीमा खानेपानी पुर्‍याउने लक्ष्यसहित करिब चार वर्षअघि सम्पन्न गरिएको ‘एक घर, एक मिटर धारा’ योजना अहिले संरक्षण र मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको स्थानीयको गुनासो छ ।

समिति निष्क्रिय भएपछि धारामा समस्या आए पनि मर्मत नहुने, खानेपानीका पाइपहरू सडक तथा बाटोमा खुला रूपमा छरिएका रहने र ट्यांकी तथा वितरण प्रणालीको नियमित सरसफाइ नहुने समस्या बढेको स्थानीय बताउँछन । शहरी विकास कार्यालय र वडा कार्यालयले पछिल्ला वर्षहरूमा खानेपानी योजनामा २० लाख बढी रकम रुपैयाँ खर्च गरे पनि उपभोक्ताले भने सहज रूपमा स्वच्छ पानी पाउन नसकेको गुनासो स्थानीयको छ ।

वर्षायाममा समस्या झनै गम्भीर हुने गरेको छ । सामान्य वर्षा हुँदासमेत धारामा धमिलो पानी आउने गरेको स्थानीय धर्मराज भट्टले बताए । कतिपय पाइप र धारामा लेदो भरिएर पानी नै नआउने भएपछि हामी न्वाला, पँधेरा तथा वर्षातमा रसाउने पानीका मुहानमा निर्भर हुन बाध्य छौ । उनले भने ।

स्थानीय वाशुदेव भट्टराईका अनुसार समिति निष्क्रिय भएपछि नयाँ समिति गठनका लागि स्थानीयले जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा निवेदन दिएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयले गत वैशाख ३० गते आवश्यक कारबाहीका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुरालाई पत्राचार गरेको थियो । तर पत्राचार भएको चार महिना समय बितिसक्दा पनि नयाँ समिति गठन तथा खानेपानी समस्या समाधानका लागि ठोस पहल नभएको भट्टराईको गुनासो छ ।

‘समिति नै सक्रिय छैन । धारा बिग्रिएपछि कसले बनाउने भन्ने समस्या छ, उनले भने, ‘प्रशासनमा निवेदन दिएर पनि अहिलेसम्म सुनुवाइ भएको छैन । स्थानीयले वर्षौदेखि खानेपानीको समस्या खेपिरहेका छन’ ।

तीन करोड ५८ लाखको योजना, अझै सहज भएन पानी

पोखरा क्षेत्रका १० वटा गाउँमा खानेपानी पुर्‍याउने उद्देश्यले ‘एक घर, एक धारा पोखरा खानेपानी योजना’ सञ्चालन गरिएको थियो । २०७६ मंसिर १३ गते सम्झौता भएर २०७८ असार २० गते काम सम्पन्न गर्ने लक्ष्य राखिएको योजना निर्धारित समयभन्दा करिब एक वर्ष ढिला गरी सम्पन्न भएको थियो ।

योजना निर्माणका क्रममा घरघरमा मिटर धारा जडान गरिए पनि लामो समयसम्म पानी सञ्चालन नहुँदा उपभोक्ता समस्यामा परेका थिए । पुराना धाराहरू जीर्ण भइसकेका र नयाँ धारामा पानी नआएपछि स्थानीयलाई नाउला तथा पँधेराबाट पानी बोक्नुपर्ने अवस्था आएको थियो । नयाँ योजना निर्माण सम्पन्न भएको चार वर्षमै फेरी त्यही समस्या दोहरिएको स्थानीय सन्तोष भण्डारीले बताए ।

तत्कालीन पोखरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भण्डारीका अनुसार योजनाको अनुमानित लागत तीन करोड ५८ लाख ७२ हजार रुपियाँ थियो । योजनामा नेपाल सरकारको अनुदान २३ लाख ८१ हजार, अमरगढी नगरपालिकाको ५४ लाख ११ हजार, निजी धारातर्फको खर्च ८८ लाख २४ हजार, समुदायको सहयोग ६७ लाख ५३ हजार तथा फिनल्यान्ड सरकार र युरोपियन युनियनको एक करोड २५ लाख रुपियाँ अनुदान समावेश थियो ।

सुरुमा ६०४ धारामा पानी पु¥याउने गरी सर्वेक्षण गरेर योजना निर्माण गरिएको थियो । पछि केही धारा थपिएका छन । ९० मिलिमिटरको पाइपमार्फत पानी ल्याएर १५ वटा नयाँ र तीन वटा पुराना गरी १८ वटा ट्यांकीबाट पानी वितरण गर्ने संरचना बनाइएको थियो । उपभोक्ताबाट मात्रै १२ लाख रुपैयाँ अग्रिम संकलन गरिएको थियो ।

अमरगढी–७ कै खालीगाड मुहानबाट पानी ल्याएर उपभोक्तालाई वितरण गर्ने योजना बनाइएको थियो । पोखरा क्षेत्रबाट करिब साढे तीनदेखि साढे चार किलोमिटरको दूरीमा रहेका मुहानबाट पानी ल्याउने संरचना निर्माण गरिएको थियो । २०७७ असोज–कात्तिकमा परेको बेमौसमी वर्षाका कारण मुहान क्षेत्रमा पहिरो खस्दा पानी सञ्चालनमा समेत अवरोध पुगेको थियो ।

योजना निर्माणमा ठूलो रकम खर्च भए पनि अहिले त्यसको संरक्षण, नियमित मर्मत तथा सञ्चालनमा देखिएको कमजोरीका कारण लगानीअनुसारको प्रतिफल उपभोक्ताले पाउन नसकेको स्थानीयको भनाइ छ । स्थानीय दिपक जोशीका अनुसार समस्या केवल मुहानमा मात्रै छैन । पाइपलाइन, ट्यांकी, धारा तथा वितरण प्रणालीको नियमित मर्मतसम्भार नहुँदा सानो समस्या आउँदा पनि लामो समयसम्म पानी अवरुद्ध हुने गरेको छ ।

स्थानीयले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र वडा कार्यालयसँग तत्काल नयाँ उपभोक्ता समिति गठन गरी योजना सञ्चालनलाई व्यवस्थित बनाउन माग गरेका छन । करोडौँ रुपैयाँ खर्च भएको खानेपानी योजना सञ्चालनको जिम्मेवारी लिने समिति नै नेतृत्वविहीन भएपछि पोखराका स्थानीयले फेरि नाउला र पँधेराको पानीमा फर्किनुपर्ने अवस्था आएको छ ।