डडेल्धुरामा ब्याडमिन्टनको उपाधि केसी–मल्ललाई

Image

डडेल्धुरा । डडेल्धुरामा आयोजित मैत्रीपूर्ण पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। डडेल्धुरा खेलकुद समितिको आयोजनामा आइतबार भएको फाइनलमा केसी–मल्लको जोडीले योगेश बोहरा र भरतबहादुर ऐरको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।

उपाधिसँगै विजेता जोडीले २० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बोहरा–ऐरको जोडीले १० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। उपविजेता जोडीले प्राप्त गरेको १० हजार रुपैयाँ पुरस्कार भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

विजेता तथा उपविजेता खेलाडीलाई भागेश्वर गाउँपालिकाका अध्यक्ष एवं प्रतियोगिताका प्रमुख अतिथि हेमराज चटौतले पुरस्कार वितरण गरे। उनले खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र नभई स्वास्थ्य तथा सामाजिक भाइचारा बलियो बनाउने माध्यमका रूपमा लिनुपर्ने बताए।

जिल्ला खेलकुद समिति डडेल्धुराका अध्यक्ष जगतबहादुर ऐरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने बताए।

अमरगढी नगरपालिका–४ टुँडिखेलस्थित समितिको आफ्नै कभर्डहलमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी थिए। सहभागी टोलीलाई चार समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो।