डडेल्धुरा । डडेल्धुराको भित्रीमधेश क्षेत्रमा रहेको जोगबुडा प्रादेशिक अस्पतालमा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य समिति गठन गरिएको छ। मातृ तथा नवजात शिशुको मृत्यु घटाउने उद्देश्यले स्वास्थ्य कार्यालय डडेल्धुराले अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मिलित समिति गठन गरेको हो।
शनिबार अस्पतालमा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्यसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी समिति गठन गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका निमित्त कार्यालय प्रमुख भवानीसिंह कुँवरले जानकारी दिए।
उनका अनुसार जोगबुडा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. पविन उपाध्यायको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिले अस्पतालमा हुने मातृ तथा पेरिनेटल मृत्युका घटनाको निगरानी, कारण पहिचान तथा आवश्यक प्रतिकार्यका लागि काम गर्नेछ।
कुँवरका अनुसार कार्यक्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मातृ तथा पेरिनेटल मृत्यु निगरानी र प्रतिकार्यका विषयमा जानकारी तथा आवश्यक अभिमुखीकरणसमेत गरिएको थियो।
कार्यक्रम सञ्चालनका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को आर्थिक सहयोगमा ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराद्वारा सञ्चालित इपीक परियोजनाले सहयोग गरेको थियो।
जोगबुडा प्रादेशिक अस्पतालका निमित्त मेसु डा. उपाध्यायले कार्यक्रम अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि निकै लाभदायी भएको बताए। केही महिनाअघिदेखि मात्रै प्रादेशिक अस्पतालका रूपमा सञ्चालनमा आएको जोगबुडा अस्पतालमा मातृ तथा पेरिनेटल मृत्यु घटाउन निगरानी प्रणाली र प्रतिकार्य समिति गठन हुनु उपचार सेवाको गुणस्तर सुधारमा सहयोगी हुने उनको भनाइ छ।
उनले मातृ तथा नवजात शिशुको स्वास्थ्यसँग सम्बन्धित घटनालाई व्यवस्थित रूपमा अभिलेख, विश्लेषण र समीक्षा गर्दै आगामी दिनमा सुधारका लागि समिति प्रभावकारी रूपमा परिचालन गरिने बताए।













