काठमाडौं । बुधबार देशभर मौसम सामान्यतया बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
यस्तै, कोशी र बागमती प्रदेशका हिमाली भू–भागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
राति पनि बदली कायमै
रातिको समयमा पनि देशभर मौसम सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
वर्षासँगै मेघगर्जन र चट्याङको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।















