‘गाईबाच्छी पाल, बुढी निकाल’ भन्दै बन्ढुनी पोलिँदै, देउडामा रमाउँदै सुदूरपश्चिम

Image

डडेल्धुरा । सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार (आज) बन्ढुनी अर्थात् बुढी पोल्ने पर्व मनाइँदै छ । असोज संक्रान्तिका दिन मनाइने यो पर्व धार्मिक विश्वास, मौलिक संस्कृति र सामुदायिक एकताको अनौठो संगमका रूपमा पुस्तौँदेखि मनाइँदै आएको छ ।

विशेषगरी डडेल्धुरा, बैतडी, डोटी, अछामलगायत जिल्लाका गाउँबस्तीमा बन्ढुनी पोल्ने चलन छ । बन्ढुनी जलाएपछि देउडा खेल्ने परम्परा रहेकाले यो पर्व धार्मिक अनुष्ठानमा मात्र सीमित नभई स्थानीय कला, संस्कृति र सामुदायिक सम्बन्धलाई जोड्ने अवसरसमेत बन्ने गरेको छ ।

धार्मिक मान्यताअनुसार द्वापर युगमा कंसको आदेशमा भगवान् श्रीकृष्णलाई विष खुवाएर मार्न पुगेकी राक्षसी पुतनालाई श्रीकृष्णले वध गरेको घटनाको सम्झनामा बन्ढुनी पर्व मनाउने गरिन्छ ।

भदौ संक्रान्ति अर्थात् ओल्के पर्वका दिन लिंगो ठड्याएर रुखका हाँगा, सल्लाका काठ तथा विभिन्न वनस्पति थुपारी बनाइएको बन्ढुनीलाई असोज संक्रान्तिको साँझ वा राति जलाउने परम्परा छ ।

स्थानीय बासिन्दाले यस दिन गाईबस्तुको गोठ तथा गोबर थुपार्ने स्थानलाई विशेष रूपमा सजाउने गर्छन् । काँस, अमरिसोलगायत पाँच जातका घाँसले बेरेर सल्लाको दियालोबाट राँको तयार गरिन्छ । त्यही राँकोबाट बन्ढुनीमा आगो लगाएर जलाउने गरिन्छ ।

बन्ढुनी जलाउँदा स्थानीय भाषामा ‘गाईबाच्छी पाल, बुढी निकाल, थुई बुढी थुई’ भन्दै काक्रो मुखमा हालेर फाल्ने र बन्ढुनी जलाउने परम्परा रहेको स्थानीय बताउँछन् ।

बन्ढुनी पोल्नुअघि काँसबाट बनाइएको गौराको आकृति गोबर थुपारिएको स्थानमा राख्ने चलनसमेत रहेको पण्डित लोकराज भट्ट बताउँछन् । उनका अनुसार बारीमा रहेका फलफूलका प्रत्येक रुखमा काँसको लुडी बनाएर राख्ने परम्परा छ । काँसको लुडी राख्दा फलफूलका रुख नसुक्ने र राम्रो फल लाग्ने जनविश्वास रहेको उहाँ बताउनुहुन्छ ।

बन्ढुनी जलाएपछि बाँकी रहेको खरानीको तिलक गाईबस्तुलाई लगाउने चलनसमेत छ । यसो गर्दा गोठमा पालिएका पशुचौपायामा रोगव्याधि नलाग्ने धार्मिक विश्वास रहेको पण्डित भट्टले बताए ।

रातभर देउडा, बिहान बन्ढुनी

डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बजारमा भने बन्ढुनी पर्वको छुट्टै रौनक देखिन्छ । यहाँ बन्ढुनी पोल्ने अवसरमा रातभर देउडा खेल्ने परम्परा छ ।

तिलाडी, पर्केउडा, भाटागाउँ र भट्टराई टोलबाट बाजागाजासहित स्थानीय जम्मा भएर बन्ढुनी पोल्ने गर्छन् । धामीले सल्लाको दियालोबाट राँको बनाएर देवदेवीका नारा लगाउँदै बन्ढुनी पोल्ने परम्परा रहेको स्थानीय धामी लक्ष्मण कैनीले बताए ।

उनका अनुसार पोखरामा परम्परागत रूपमा बिहान करिब ४ बजेको समयमा बन्ढुनी पोल्ने गरिन्छ । त्यसअघि रातभर देउडा खेल्ने, बाजागाजा बजाउने तथा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि गर्ने गरिएको छ ।

कतिपय स्थानमा बन्ढुनी जलाइसकेपछि वारिपारिका गाउँका मानिसले एकअर्कालाई ‘लुतो लैजाऊ’ भन्ने चलनसमेत रहेको धामी कैनीले बताए । बन्ढुनी पर्व मनाउन स्थानीय बासिन्दाले बिहानैदेखि नुहाइधुवाइ गरी शुद्ध भएर पर्वमा सहभागी हुने गर्छन् ।

बन्ढुनीपछि पानी परे ‘गाईले जितेको’ विश्वास

असोज संक्रान्तिलाई स्थानीय समुदायले ऋतु परिवर्तनको सङ्केतका रूपमा समेत लिने गरेका छन् । असोज १ गतेदेखि शरद ऋतु सुरु भएको मानिन्छ ।

बन्ढुनी पोलेपछि राति वा भोलिपल्ट बिहानसम्म पानी परे ‘गाई अर्थात् लक्ष्मीले जितेको’ र पानी नपरे ‘बुढीले जितेको’ भन्ने स्थानीय भनाइसमेत रहेको धामी कैनीले बताए ।

यसरी बन्ढुनी पर्वमा धार्मिक विश्वाससँगै कृषि, पशुपालन र ऋतु परिवर्तनसँग जोडिएका स्थानीय मान्यतासमेत गाँसिएका छन् । सदियौँदेखि चल्दै आएको बन्ढुनी पर्व पछिल्लो समय धार्मिक अनुष्ठानमा मात्र सीमित छैन । यसले सुदूरपश्चिमको मौलिक कला, संस्कृति र सामाजिक एकतालाई जोड्ने पर्वको स्वरूपसमेत लिएको छ ।

पर्वका अवसरमा डडेल्धुराका विभिन्न स्थानमा देउडा तथा अन्य सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । वर्षभरि आ–आफ्नो काममा व्यस्त रहने गाउँबस्तीका मानिस एकै ठाउँमा भेला भएर देउडा खेल्ने, बाजागाजा बजाउने र परम्परागत विधिमा सहभागी हुने गर्छन् ।

बुढी पोल्ने आगोमा पुरानो विश्वासको कथा मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको स्थानीय संस्कृतिको तापसमेत जोडिएको छ । देउडाको तालमा नयाँ पुस्ता रमाउँदा पुरानो पुस्ताले आफ्नो परम्परा सम्झिन्छ ।

त्यसैले बन्ढुनी सुदूरपश्चिमका लागि एउटा पर्व मात्र नभई धार्मिक विश्वास, प्रकृतिसँगको सम्बन्ध, कृषि–पशुपालनको जीवनशैली र देउडा संस्कृतिलाई एउटै सूत्रमा बाँध्ने मौलिक सांस्कृतिक परम्पराका रूपमा मनाइँदै आएको छ ।