काठमाडौँ । हिन्दू धर्मावलम्बीले आज आश्विन सङ्क्रान्तिका अवसरमा भगवान् विश्वकर्माको पूजा आराधना गर्दैछन्। हरेक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजामा सवारीसाधन, कलकारखाना तथा उद्योगमा प्रयोग हुने धातुजन्य उपकरण, औजार र मेसिनरीको पूजाआजा गर्ने परम्परा छ।
विशेषगरी कालिगड, मिस्त्री तथा विभिन्न उद्योग–कलकारखानामा काम गर्ने श्रमिकले फलामे औजार, मेसिन र उपकरण सफा गरी पूजा गर्ने गर्छन्। सवारीसाधनका धनी तथा चालकले समेत आफ्ना सवारीसाधनको पूजा गरी विश्वकर्मा दिवस मनाउने गरेका छन्।
धार्मिक मान्यताअनुसार भगवान् विश्वकर्मालाई देवशिल्पीका रूपमा स्मरण गरिन्छ। समुद्र मन्थनबाट प्रकट हुनुभएका भगवान् विश्वकर्माको पूजा गरी औजार तथा धातुजन्य उपकरणको आराधना गर्दा कामका क्रममा चोटपटक नलाग्ने र दुर्घटनाबाट जोगिन सकिने जनविश्वास छ।
द्वापरयुगमा भगवान् कृष्णको आग्रहमा विश्वकर्माले समुद्रको बीचमा द्वार निर्माण गरी कृष्णसहितका जनताको संरक्षण गरेको धार्मिक किंवदन्तीसमेत पाइन्छ। सोही धार्मिक विश्वास र परम्परासँग जोडेर विश्वकर्मा पूजा मनाउने गरिएको बताइन्छ।
विश्वकर्मा पूजाका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न मन्दिर तथा शक्तिपीठमा सवारीसाधनको पूजाआजा गर्ने गरिन्छ। भद्रकाली, मैतीदेवी तथा ललितपुरको महालक्ष्मीलगायतका मन्दिरमा सवारीसाधन पूजा गर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ।
यस दिन उद्योग, कलकारखाना, वर्कसप, निर्माण तथा प्राविधिक क्षेत्रमा प्रयोग हुने मेसिन, औजार र उपकरणलाई विशेष रूपमा सजाएर पूजा गर्ने गरिन्छ। कतिपय स्थानमा विश्वकर्माको मूर्ति स्थापना गरी सामूहिक रूपमा पूजाआजा तथा प्रसाद वितरणसमेत गर्ने चलन छ।
विश्वकर्मा पूजालाई श्रम, सीप, प्रविधि र औजारप्रतिको सम्मानसँग जोडेर समेत हेर्ने गरिएको छ।












