काठमाडौँ । अन्डमान सागर आसपास विकसित भएको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै चक्रवातमा परिणत हुने क्रममा रहेकाले त्यसको असर नेपालमा समेत पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त मौसमी प्रणालीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता अपनाइएको छ।
मौसम विज्ञान विभागले चक्रवातको गतिविधि र त्यसको सम्भावित मार्गबारे निरन्तर निगरानी गरिरहेको विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले बताइन्।
उनका अनुसार चक्रवात कहाँ र कसरी जमिनमा प्रवेश गर्छ भन्ने विषयले नेपालमा पर्ने प्रभाव निर्धारण गर्नेछ। “चक्रवात भारततर्फ गएर पुनः नेपालतिर आउँछ वा सिधै नेपालतर्फ आउने प्रणाली बन्छ भन्ने विषय अहिले महत्वपूर्ण छ,” उनले भनिन्, “त्यसैले विभिन्न मौसमी मोडेलको विश्लेषण गर्दै उच्च सतर्कताका साथ अनुगमन भइरहेको छ।”
विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ।
देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाले नदी तथा खोलानाला आसपासका बस्ती, पहिरोको जोखिम रहेका क्षेत्र र कमजोर भौतिक संरचना भएका स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
उत्तर अन्डमान सागर तथा आसपास विकसित भएको न्यूनचापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्य भाग आसपास पुगेको मौसम विज्ञान विभागले जनाएको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने अनुमान गरिएको छ।
बुधबार भारतको दक्षिण ओडिसा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिकबाट उक्त प्रणाली जमिनतर्फ प्रवेश गर्ने अनुमान गरिएको छ।
विश्व मौसम सङ्गठनका अनुसार बङ्गालको खाडी हुँदै अघि बढ्ने क्रममा प्रणाली थप शक्तिशाली भए हिन्द महासागर क्षेत्रमा यस वर्षकै ठूलो चक्रवात बन्न सक्ने सम्भावना छ। सम्भावित चक्रवातको नाम ‘अर्नव’ राख्ने प्रस्ताव बङ्गलादेशले गरेको छ।
पूर्वतयारीमा जुट्न निर्देशन
सम्भावित जोखिमलाई ध्यानमा राख्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई पूर्वतयारीसहित सतर्क रहन निर्देशन दिइएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्भावित प्रभावित क्षेत्रका स्थानीय तहसँग समन्वय गरी आवश्यक तयारी अघि बढाउन भनिएको छ।
मौसमी प्रणालीबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक दुई पटक बसिसकेको छ। बैठकमा पर्यटन विभाग, कृषि मन्त्रालयलगायतका सम्बन्धित निकायका अधिकारीलाई समेत सम्भावित जोखिमबारे जानकारी गराइएको छ।
मङ्गलबार बसेको कमान्ड पोस्टको बैठकमा पनि सम्भावित जोखिम, उद्धार तथा राहतको तयारी र प्रभावित हुन सक्ने क्षेत्रबारे छलफल गरिएको थियो।
हिमाली क्षेत्रमा विशेष सतर्कता
मौसमी प्रणालीको प्रभाव उच्च हिमाली क्षेत्रमा भारी हिमपातका रूपमा पर्न सक्ने भएकाले आरोहण तथा पदयात्राका लागि पुगेका पर्यटकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित निकायले असोज ८ गतेदेखि मौसमको अवस्था नबुझी हिमाली क्षेत्रमा यात्रा नगर्न तथा सम्भव भएसम्म सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
यसैबीच विभिन्न जिल्लामा स्थानीय तह र प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी थालेका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले नदी तथा खोलाको तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन स्थानीय तहलाई भनिएको बताए।
उनका अनुसार सम्भावित भारी वर्षाका कारण नदीमा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा रहेका बस्तीलाई समयमै सचेत गराउने र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्नेसम्मको तयारी गर्न भनिएको छ।
मौसम प्रणालीको मार्ग र शक्तिमा आउने परिवर्तनका आधारमा नेपालमा पर्ने प्रभावसमेत परिवर्तन हुन सक्ने भएकाले मौसम विज्ञान विभागले जारी गर्ने नियमित सूचना र पूर्वानुमानलाई आधार बनाएर यात्रा तथा अन्य गतिविधि गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।















