गत वर्ष तीन करोड रोक्का भएको जीर्ण सुनपोखरी डेढ करोडमा पुनर्निर्माण गरिँदै

Image

डडेल्धुरा । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–७ पोखरामा १६ वर्षदेखि जीर्ण अवस्थामा रहेको सुनपोखरी करिब डेढ करोड रुपियाँ खर्च गरेर पुनर्निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पुनर्निर्माणका लागि सङ्घीय सरकारले विनियोजन गरेको तीन करोड रुपियाँ बजेट रोक्का भएपछि चालु आर्थिक वर्षमा कार्यालयकै डल्लो बजेटबाट पोखरी पुनर्निर्माण गर्न लागिएको हो ।

पञ्चायतीकालमा निर्माण गरिएको सुनपोखरीबाट दुई हजार पाँच सय रोपनीभन्दा बढी जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको थियो । करिब २० लाख लिटर पानी अट्ने क्षमताको पोखरी पूर्ण रूपमा सञ्चालनमा आउनुअघि नै फुटेपछि लामो समयदेखि जीर्ण अवस्थामा रहेको छ ।

पोखरी सञ्चालनमा नहुँदा अमरगढी–७ पोखरा क्षेत्रमा व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका चार सयभन्दा बढी परिवार प्रभावित हुँदै आएका छन् । ठूलो पोखरी फुटेपछि स्थानीयले छेउमा करिब ५० हजार लिटर क्षमताको सानो पोखरी निर्माण गरी सिँचाइ गर्दै आएका छन् । तर, सानो पोखरीको पानीले व्यावसायिक तरकारी खेतीका लागि पर्याप्त सिँचाइ नपुगेपछि किसान समस्यामा छन् ।

अमरगढी नगरपालिका–७ का वडाध्यक्ष खडक बोहराका अनुसार सुनपोखरी पुनर्निर्माण तथा थप शाखा पोखरी निर्माणका विषयमा बिहीबार वडा कार्यालयमा आमभेला गरिएको थियो । आमभेलाले पोखरी निर्माणका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको उनले बताए ।

“सडकको क्षेत्राधिकार छाडेर पोखरी मर्मत गर्नुपर्ने अवस्था छ । फुटेको र चर्किएको भागलाई बलियो बनाउँदै करिब १० लाख लिटर क्षमताको पोखरी निर्माण गर्न सकिने देखिएको छ,” उनले भने ।

डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको छेउमै सुनपोखरी रहेकाले सडकको क्षेत्राधिकारसमेत ध्यानमा राखेर पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको छ । यसका लागि सम्बन्धित कार्यालयले वडा कार्यालयसँग आवश्यक सहयोगका लागि समन्वय गरिरहेको छ ।

डडेल्धुरामा गत आर्थिक वर्षमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय स्थापना भएको हो । गत वर्ष सुनपोखरी पुनर्निर्माणका लागि विनियोजन भएको बजेट रोक्का भएपछि चालु आर्थिक वर्षमा कार्यालयसँग रहेको डल्लो बजेटबाट पोखरी पुनर्निर्माण तथा नयाँ शाखा पोखरी निर्माण गर्ने योजना बनाइएको छ ।

कार्यालयका नायब सुब्बा देवेन्द्र शाहुका अनुसार सुदूरपश्चिमका चार जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले व्यावसायिक तरकारी उत्पादन भइरहेको र सडक तथा बजारको सहज पहुँच भएको क्षेत्र भएकाले सुनपोखरीलाई प्राथमिकतामा राखेको हो । सुनपोखरी पुनर्निर्माणपछि यस क्षेत्रको सिँचाइ सुविधा विस्तार गर्ने योजना रहेको उनले बताए ।

“कहाँ–कहाँ सिँचाइ सुविधा आवश्यक छ भन्ने पहिचान गर्न स्थानीयलाई जग्गाको लालपुर्जासहित फाराम भर्न लगाएका छौँ । जग्गाको विवरण सङ्कलन गरेर पानीको मात्रा जाँच गरिनेछ,” उनले भने, “सिँचाइ गर्न सकिने क्षेत्र पहिचान भएपछि आवश्यकताअनुसार नयाँ शाखा पोखरी निर्माण गरिनेछ ।”

उनका अनुसार स्थानीय किसानले फाराम भरेपछि असोज महिनाभित्रै पोखरी मर्मत तथा नयाँ शाखा पोखरी निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी छ । नयाँ पोखरी निर्माणका लागि स्थानीयले जग्गाको सुनिश्चितता गर्नुपर्नेछ ।

हाल जीर्ण सुनपोखरीको छेउमा रहेको करिब ५० हजार लिटर क्षमताको सानो पोखरीबाट २० वटा धारा निर्माण गरी स्थानीयले सिँचाइ गर्दै आएका छन् । नयाँ योजनाअन्तर्गत हालको सानो पोखरीभन्दा करिब १० गुणा ठूलो पोखरी निर्माण गर्ने तयारी छ । सिँचाइको आवश्यकता हेरेर थप शाखा पोखरी तथा धाराको सङ्ख्या निर्धारण गरिने कार्यालयले जनाएको छ ।

कार्यालयसँग रहेको करिब तीन करोड रुपियाँको डल्लो बजेटमध्ये करिब डेढ करोड रुपियाँ सुनपोखरी मर्मत तथा नयाँ शाखा पोखरी निर्माणमा खर्च गर्ने योजना बनाइएको शाहुले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा धारा निर्माणका लागि बजेट अपुग भए आगामी आर्थिक वर्षमा थप बजेट व्यवस्था गरिनेछ ।

पञ्चायतकालमै निर्माण

सुनपोखरी पहिलो पटक विसं २०२९ मा निर्माण गरिएको स्थानीयले बताएका छन् । करिब २० लाख लिटर क्षमताको पोखरीबाट ठूलो क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको थियो । तर, पोखरी पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दै फुटेको थियो ।

त्यसपछि दुई पटक पुनर्निर्माण गरी सञ्चालनमा ल्याउने प्रयास भए पनि पोखरी दीर्घकालीन रूपमा सञ्चालन हुन सकेन । पुनर्निर्माणपछि सञ्चालनमा आए पनि पुनः फुटेपछि डेढ दशकभन्दा लामो समयदेखि जीर्ण अवस्थामा रहेको छ ।

सुनपोखरी पुनर्निर्माणपछि अमरगढी–७ पोखरामा व्यावसायिक तरकारी खेती गर्दै आएका किसानलाई नियमित सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ । सिँचाइ सुविधा विस्तार भएमा हाल बाँझो रहेका थप जमिनमा समेत व्यावसायिक खेती विस्तार गर्न सकिने स्थानीयको अपेक्षा छ ।