आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु

Image

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज शनिबार कागको पूजा आराधना गरी काग तिहार मनाइँदैछ ।

धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूतका रूपमा लिइन्छ । कागले यमराजसमक्ष शुभ समाचार पुर्‍याओस् भन्ने विश्वासका साथ आज बिहान कागलाई मनपर्ने खानेकुरा दिएर पूजा गर्ने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार बिहान सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले शास्त्रसम्मत् रूपमा आज काग तिहार मनाउन लागिएको हो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीप दान गर्ने र सूर्योदयकालमा त्रयोदशी परेका दिन काग तिहार मनाउने धार्मिक विधान रहेको उहाँले बताउनुभयो । सोहीअनुसार शुक्रबार बेलुकी यमदीप दान गरिएको थियो ।

धनवन्तरी जयन्ती पनि आजै परेको छ । तिथि घटबढका कारण यस वर्ष कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ ।

त्यस्तै, कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने कात्तिक २४ गते मंगलबार गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा मनाइनेछ ।

यमपञ्चकको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटलाई निर्धारण गरेको छ ।

काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजाआराधना गरिँदैछ ।

धार्मिक विश्वासअनुसार आज कागलाई दही–भातलगायत मनपर्ने खानेकुरा खुवाउँदा कागले यमराजसमक्ष शुभ सन्देश पुर्‍याउने मान्यता छ । त्यसैले बिहानै घरबाहिर वा छतमा खानेकुरा राखेर कागलाई बोलाउने र पूजा गर्ने चलन छ ।

आजदेखि लगातार सार्वजनिक बिदा सुरु भएकाले तिहारको रौनकसमेत बढेको छ । घरआँगन सरसफाइ, दीपावली, देउसीभैलो र पारिवारिक भेटघाटको तयारीले गाउँदेखि सहरसम्म तिहारको चहलपहल बढ्दै गएको छ ।