राजुलमा आज भलिबलको फाइनल र सांस्कृतिक प्रस्तुतिको रौनक, विजेताले पाउनेछन् १ लाख ५५ हजार

Image

डडेल्धुरा । ग्रामीण क्षेत्र अजयमेरु गाउँपालिका–६ राजुलमा दीपावलीको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम तथा खुला पुरुष भलिबल प्रतियोगिताको आज समापन हुँदैछ । तीन दिनदेखि सञ्चालन भइरहेको उत्सवको अन्तिम दिन आज भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुनुका साथै सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् ।

बिहीबारदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत आज बिहान क्वाटरफाइनल र सेमिफाइनलका खेल सञ्चालन हुनेछन् भने दिउँसो फाइनल खेल हुने आयोजक वडा नं. ६ का अध्यक्ष हरि भण्डारीले जानकारी दिए । प्रतियोगिताको समापन एक समारोहका बीच गरिने उनले बताए ।

यस वर्ष राजुलमा हालसम्मकै उच्च पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना गरिएकाले प्रतियोगितालाई खेलप्रेमीले विशेष चासोका साथ हेरेका छन् । प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख ५५ हजार ५५५ रुपैयाँ, दोस्रो हुने टोलीले ७७ हजार ७७७ रुपैयाँ र तेस्रो हुने टोलीले ४४ हजार ४४४ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्रथम पुरस्कार जेसिज डडेल्धुरा वर्ष २०२६ ले प्रायोजन गरेको छ । जेसिज प्रतियोगिताको सहआयोजकसमेत रहेको छ ।

भलिबल प्रतिस्पर्धासँगै उत्सवको अन्तिम दिन आज सांस्कृतिक कार्यक्रम पनि विशेष आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ । बाल गायिका कल्पना बिष्ट, गायक गणेश केसी तथा चर्चित डान्सर आरुसी मगरका सांगीतिक प्रस्तुति र आकर्षक नृत्यले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

राजुलमा हरेक वर्ष दीपावलीको अवसर पारेर सांस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता आयोजना हुँदै आएको छ । दुर्गम ग्रामीण क्षेत्र भए पनि खेलकुद र सांस्कृतिक गतिविधिमार्फत स्थानीय प्रतिभा उजागर गर्ने, युवालाई खेलकुदमा जोड्ने र आपसी सद्भाव बढाउने उद्देश्यले उत्सव आयोजना गरिँदै आएको आयोजकको भनाइ छ ।

यस वर्ष पुरस्कार राशि बढाएर आयोजना गरिएको प्रतियोगिता र सांस्कृतिक प्रस्तुतिले राजुलको दीपावली उत्सवलाई थप आकर्षक बनाएको छ ।