श्रीलङ्काको राष्ट्रपतीय उम्मेदवारीमा वामपन्थी नेता दिसानायकाको चर्चा

Image

कोलम्बो । दुई वर्षअघि दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधीको अभाव भएपछि चलेको आन्दोलनपछि हुन लागेको पहिलो आम निर्वाचनमा अनुरा कुमारा दिसानायका र उनको जेभीपी भनिने पिपुल्स लिबरेशन फ्रन्टको लोकप्रियता बढेको छ ।

सेप्टेम्बर २१ मा हुने निर्वाचनमा राष्ट्रपतिपदका प्रत्याशी दिसानायकाले सङ्कटग्रस्त मुलुकको सामाजिक, राजनीतिक तथा आर्थिक क्रान्तिका लागि आफूलाई निर्वाचित गर्न शुभेच्छुक मतदातासँग आग्रह गरेका छन ।

श्रीलङ्काको माक्र्सवादी पार्टीले दुई चरणमा गरेका विद्रोहमा ८० हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । विद्रोहबाट सत्ता कब्जा गर्न नसकेपछि शान्तिपूर्ण राजनीतिमा समाहित भएको जेभिपीका नेता तथा राष्ट्रपतिपदका प्रत्यासी दिसानायका एक मजदुर परिवारबाट राजनीतिमा आएका हुन ।

लामो समयदेखि स्थापित राजनीतिज्ञहरूबाट निराश पेशेवरहरूसँग गठबन्धन बनाएपछि राष्ट्रपतीय चुनावमा एक प्रबल दाबेदारका रूपमा ५५ वर्षीय दिसानायकाले सामाजिक रूपान्तरणका लागि युवाहरूको समृद्ध र भ्रष्टाचारमुक्त श्रीलङ्काको आवाजलाई साथ दिने बताएका छन ।

सन् २०२२ मा यस टापुको आर्थिक मन्दीका लागि भ्रष्टाचार, नातावाद र अक्षमताका लागि समाजवादी र दक्षिणपन्थी दुवै पुँजीवादी सरकारहरू जिम्मेवार रहेको उनको दाबी छ ।

बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको श्रीलङ्काले बेलायती औपनिवेशिक शासनबाट सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेयताको यो सबैभन्दा खराब आर्थिक मन्दी हो ।

व्यापक आर्थिक मन्दीको असर सर्वसाधारण नागरिकसमेतको दैनिकीमा पर्न थालेपछि सुधारको मागसहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले तत्कालीन राष्ट्रपति गोटबाया राजपाक्षको सरकारी कार्यालयमा आक्रमण गरेपछि उनले देश छोड्न र राजीनामा दिन बाध्य भएका थिए ।

“श्रीलङ्काको स्वतन्त्रतापछिको इतिहासमा पहिलो पटक, शासन केही भ्रष्ट कुलीन परिवारहरूको नियन्त्रणबाट जनताको सरकारमा सर्नेछ,” उनले निराश जनमानसलाई आशाको सङ्केत दिँदै आफ्नो राष्ट्रपतीय घोषणापत्रमा उल्लेख गरेका छन ।

पूर्व कृषिमन्त्री दिसानायकाले प्रदर्शनकारीको पक्ष लिए पनि आफ्नो पार्टीका पूर्व सहयोगी राजपाक्षलाई सत्ताच्युत गर्न प्रत्यक्षरूपमा संलग्न भने भएका थिएनन् ।

सन् २०१४ मा जेभीपीको नेतृत्व सम्हाल्ने बित्तिकै दिसानायकाले फेरि हतियार नउठाउने र चुनावमार्फत सत्तामा आउने प्रतिबद्धता जनाएका थिए ।

उनले जेभीपीलाई हिंसात्मक अतीतबाट टाढा राख्न र व्यापक समर्थन प्राप्त गर्न राष्ट्रिय जनशक्ति (एनपीपी) गठबन्धन गठन गरेका छन ।

“हामी श्रीलङ्काका जनतालाई विश्वास दिलाउँछौं कि हामी फेरि कहिल्यै हतियार उठाउने छैनौं,” उनले सन् २०१५ मा जेभीपीको वेबसाइटमा प्रकाशित एक वक्तव्यमा उल्लेख गरेका छन ।

उनले जेभीपीको वैचारिक परिवर्तनको सङ्केत गर्दै आफूहरू खुला अर्थतन्त्रमा विश्वास गर्ने र निजीकरणको पूर्ण रूपमा विरोधी नभएको बताएका छन ।

यद्यपि, उनको घोषणापत्रले घाटामा रहेका राज्य उद्यमहरूलाई बिक्री नगरी सुधार गर्ने प्रतिज्ञा गरेको छ ।

उनले निर्वाचन अभियानका क्रममा सम्बोधन गर्दै भने, “हाम्रो बदनाम गर्ने अभियान चलिरहेको छ । विरोधीहरूले हामीविरूद्ध घरपालुवा जनावरसमेतलाई राष्ट्रियकरण गर्छन् भनी प्रचार गरेका छन् । हाम्रो अभियान आधुनिक अर्थतन्त्रको सुधार, भ्रष्टाचारमुक्त समाज र समृद्ध तथा सुखी नागरिकका लागि हो ।”

सन् १९८७ को भारतविरोधी अभियानपछि दिसानायका र उनको पार्टीले नयाँदिल्लीसँग सम्बन्ध सुधारेका छन्, तर उनलाई अझै पनि चीनसँग निकट रहेको बताउने गरिन्छ ।

रणनीतिक रूपमा पूर्व–पश्चिम समुद्री मार्गमा अवस्थित श्रीलङ्कामा चीन र भारतको मुख्य प्रभाव रहने गरेको र राष्ट्रिय नेताहरूलाई उनीहरूले आफ्नो निकट ल्याउने कोशिस गर्ने गरेको पाइएको छ ।रासस/एएफपी