बाजुराको मार्तडी-कोल्टी सडक अझै बनेन

Image

बाजुरा । गत असारको पहिलो सातादेखि अवरुद्ध बाजुराको मार्तडी–कोल्टी सडक अझै सञ्चालनमा आउन सकेको छैन । सडक सञ्चालनमा नआउँदा जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली, जगनाथ, स्वामिकार्तिक र बुढीनन्दा नगरपालिका लगायतका स्थानीयलाई यसपालिको दसैँ खल्लो हुने कि भन्ने निकै चिन्ता परेको छ ।

पहिला बाटो खुल्छ र स्याउ बिक्री गर्न बजार लान्छु भन्ने सोच गरेको थिए। स्याउ पाक्यो तर बाटो खुलेन, बुढीनन्दा नगरपालिका – ९ का रामबहादुर रोकायाले गुनासो गरे ।

उनले भने, “विगतका दिन देखि अहिले सम्म यहाँका स्थानीयलाई बाटोकै समस्या हुने गरेको छ । हिउँदका महिना केही दिन बाटो खुल्छ । बर्खा लाग्छ त्यसपछि फेरि बाटो बन्द हुन्छ । सडक बन्द भएको झण्डै पाँच महिना पुग्यो । गाउँमा दसैँ आइगयो बाटो भने अहिलेसम्म खुल्याको नाइँ ।ू

बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा तथा छिमेकी जिल्ला र हुम्ला कालिकोट लगायतका स्थानीयले दसैँको बेला मार्तडी–कोल्टी सडक देखि पनि दैनिक उपभोग्य सामाग्री ढुवानी गर्ने गर्दछन् ।

लामो समयदेखि बाटो बन्द भएकोले यहाँका स्थानीयलाई दसैँ अगावै सो सामग्री कसरी गाउँमा लैजाने निकै चिन्ता छ । उसो त बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका अधिकांश ग्रामीण सडक पनि अस्तव्यस्त छन् ।

गत वर्ष यहाँका स्थानीय तहले सडकला चाँडै मर्मत गरेको भए पनि यतीबेला भने अधिकांश स्थानीय तहले सडक मर्मत गर्ने कामलाई कुनै सुरसार गरेको छैन । मार्तडी(कोल्टी सडक कालोपत्रे गर्न २०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले २०७६ असारमा जिम्मा लिएका हुन् ।

मार्तडी बसपार्कदेखि चुथीको झन्डै नौ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोड रुपियाँमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङकर प्रालि काठमाडौँ र चुथीदेखि ढम्कने झण्डै पाँच किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बानियाँ कुशेश्वर जेभी प्रालि हेटौँडाले ६२ करोड रुपियाँमा जिम्मा लिएका थिए ।

अहिले फेरि ढम्कने देखि कोल्टी सम्मको २६ किलो मिटर सडक नाति कन्स्ट्रक्सन प्रालि जिम्मा लिएको छ । भने चुथी देखि ढम्कने सम्मको सडक आफैले निर्माण गरिरहेको बाँनीया निर्माण सेवा प्रालिका प्रोजेक्ट म्यानेजर विष्णु लामिछानेले बताए । उनले भने, “बर्खाको पानीका कारण अहिले केही ठाउँमा गाडी त के मानिसलाई समेत हिँड्न समस्या छ । यसका बारेमा अहिले यहाँका बुढीनन्दा र बडिमालिका नगरपालिकाका मेयर सापसँग सडक मर्मतका बारेमा कुरा भएको छ । ”