डडेल्धुरा । चाँडबाडका बेला सडक मर्मत गर्न स्थानीय आफै जुटेका छन । वर्षाले छेदविछेद भएको चुरेको सडक मर्मत गर्न स्थानीय दैनिक रुपमा काम गर्दै आईरहेका छन । डडेल्धुरा–कञ्चनपुर जिल्लाको सिमाना चुरे पर्वतको दुर्गम वस्ति मलासका स्थानीय सडक मर्मतको काम गर्दै आईरहेका हुन ।
नेपालीहरुको महान पर्व दशैँ तिहार नजिकिदै गर्दा सडक मर्मत गर्न स्थानीय सरकारले कुनै चासो नदेखाएपछि मलासवासी स्थानीय आफै सडक मर्मत गर्न जुटेका हुन । तत्कालिन जिल्ला विकास समिति डडेल्धुराले डडेल्धुरा–कञ्चनपुर जोडने महत्वपूर्ण सडकका रुपमा प्राथमिकतामा राखी साँदनी–गैरीखान–चुनापानी सडक खनेको थियो । यस सडकको गैरीखान–चुनापानी खण्ड वर्षाका कारण छेदविछेद भएको छ । यो सडक खण्ड असार पहिलो सातादेखि अवरुद्ध छ ।
साढे सात किलोमिटर लामो यस सडक खण्डमा यातायात सेवा सुचारु गर्न स्थानीय सरकारका जनप्रतिनिधीहरुसँग पटक पटक माग गर्दा हालसम्म कुनै सुनवाई नभएको स्थानीयको गुनासो छ । चाँडबाड नजिकिदै गर्दा समेत स्थानीय सरकारले सडक सुचारु गर्न कुनै तदारुकता नदेखाए पछि मलासवासी स्थानीय आफै सडक मर्मतमा जुटेको स्थानीय जनक बमले बताए ।
कञ्चननपुरको महेन्द्रनगर बजारबाट सबैभन्दा छोटो दुरीमा चुरे पर्वत श्रृंखलाको मलास क्षेत्रका वस्तीहरुमा पुगिन्छ । उनले भने, यो सडक डडेल्धुराको भित्रिमधेस जोगबुडा परशुराम जोड्ने सबैभन्दा छोटो हुन्छ । सडक मर्मत नहुदा अबरुद्ध भएको सुचारु गर्न तीन दिनदेखि स्थानीयले काम गर्दै आईरहेका छन ।
परशुराम नगरपालिका–७ अन्तरगत मलास क्षेत्रमा रहेका बसेनी, गैरीखान, काजीगडा, आइडुङ्रा, पुरानपानी, साइसौन लगायतका बिकट वस्तीका स्थानीय सडक मर्मतमा जु्नटेका छन । घरबाट रासन, भाडाकुँडा र लत्ताकपडा बोकेर सडकमै बास बस्ने र खाना पकाई सडक मर्मतमा जुटेको उनले बताए ।
तीन दिन यता दैनिक ५० देखि ७० जना स्थानीयले सडक मर्मतको काम गर्दै आईरहेका छन । तीन दिनको कामले झण्डै छ किलोमिटर सडक मर्मत भइसकेको छ । बाँकी रहेको सडक मर्मत गरेर आईतबार देखि यातायात सेवा सुचारु गर्ने लक्ष्य रहेको उनले बताए ।
जिल्लाको सबैभन्दा दुर्गम वस्ती मलास क्षेत्रका वस्तीहरुमा हाल कच्ची सडक पुगे पनि वर्षातका कारण बेला बेला सडक अवरुद्ध हुने गरेको छ । अत्यन्तै सम्वेदनसिल चुरे क्षेत्रको कच्ची भू बनोटका कारण वर्षातमा बाढी, पहिरो र भू क्षयीकरणका कारण कच्ची सडक अवरुद्ध हुने गर्छ ।
चाडपर्व नजिकिए पनि यातायात सेवा सुचारु हुने नदेखिएपछि स्थानीय श्रमदानमा जुट्नु परेको स्थानीय रामबहादुर महताले बताए । दुर्गम क्षेत्रलाई सरकारले वेवास्त गरिरहेकाले जनजीवन निकै कष्टकर रहेको उनको गुनासो छ ।
मलास क्षेत्रका बासिन्दाहरुलाई एक दिन पैदल हिडेर वडा कार्यालय पुग्नु पर्ने बाध्यता छ । वडा कार्यालय साँदनीमा रहेको छ । वडा कार्यालय पुग्नुभन्दा नजिक करिब दुई, तीन घण्टा पैदल हिडेर कञ्चनपुरको महेन्द्रनगर बजार पुग्न सकिन्छ । यस क्षेत्रका स्थानीयहरु दैनिक उपभोग्य सामान, लत्ताकपडा, नुन तेलदेखि औषधी र अत्यावश्यक वस्तु खरिद गर्न महेन्द्रनगर बजार पुग्ने गर्दछन । स्थानीय स्तरमा उत्पादन हुने कृषि उपज बिक्री गर्न पनि महेन्द्रनगर बजार पुग्नुपर्ने मलास क्षेत्रका स्थाीयहरुको बाध्यता छ ।
हाल महेन्द्रनगरदेखि मलास क्षेत्र जोडने तीनवटा कच्ची सडक भए पनि वर्षायामसंगै सबै सडक अवरुद्ध भएका छन । गैरीखान–चुनापानी सडक खण्ड मात्रै सुचारु भए पनि चाँडपर्वका बेला स्थानीयलाई निकै सहज हुने स्थानीय गोरखबहादुर बोहराले बताए ।
जनश्रमदानमा जुटेका युवाहरुले सरकार र अन्य निकायबाट बाह्य सामाग्री खरिद गर्न र दक्ष जनशक्तिको ज्याला वाफत बजेट विनियोजन गरिदिए यहाँका वस्तीका आवश्यकतामा आधारित योजनाहरु श्रमदान गरेरै कार्यान्वयन गर्ने निर्णय गरिएको घुम्टीगडा गाउँका स्थानीय साईमल धामीको भनाई छ ।












