दाताको सहयोगले चलेको संस्कृत पढाई हुने उग्रतारा वेदविद्याश्रम

Image

डडेल्धुरा । संस्कृत बिषय पढाई हुने उग्रतारा वेदविद्याश्रम दाताको सहयोगबाट संचालन हुदै आएको छ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ८, उग्रतारा मन्दिर परिसरमा स्थापना गरिएको विद्याश्रमबाट गत वर्षको एसईई परिक्षामा पाँच जना बटुकले सहभागी भए । तीन जना नियमित र एक जना ग्रेट सुधार गरि चार जना पास भएसंगै विद्याश्रमको पहिलो वर्षको उत्तिर्णदर ८० प्रतिशत पुगेको छ ।

संस्कृत व्याकरणसहित अँग्रेजी, गणित र विज्ञान बिषय बढाई हुने विद्याश्रमको मासिक खर्च एक लाख २० हजार आउने गरेको छ । तर आम्दानीको सुनिश्चितता नहुदा दाताको भर पर्नु बाहेकको विकल्प नभएको प्राधानाध्यापक प्रेमराज भट्टले बताए । २०७५ सालमा स्थापना गरिएको विद्याश्रममा कक्षा ६–१० को पढाई हुने गरेको छ । संस्कृत व्याकरणमा आचार्य गरेका चार जना र अँग्रेजी, गणित, विज्ञानका तीन जना जिल्ला बाहिरका गुरुहरुद्धारा अध्यापन गराईने भएकाले मासिक खर्च बढेको छ ।

उनले भने, दाताको सहयोग र नीजि स्रोतले खर्च धानिरहेको छ । हाललाई विश्व हिन्दु महासंघ महर्सीबाट मासिक ५५ हजार रुपियाँ दिदै आएकाले केही सहज भएको छ । नीजि आम्दानीको स्रोत उग्रतारा मन्दिरको दान दक्षिणा हो । दक्षिणा कम भए शिक्षक गुरुहरुले मासिक तालब नपाउने अवस्था रहन्छ । मासिक २२ हजर रुपियाँ सम्म मात्रै न्युनतम रुपमा तलब दिने गरि शिक्षक गुरुहरुले अध्यापन गराउदै आईरहेको उनले बताए । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट १० लाख रुपियाँ बजेट विनियोजन भएको उनले जानकारी दिए । यसले केही सहज हुने उनको भनाई छ ।

विद्याश्रममा हाल ३४ जना बटुक अध्ययनरत छन । संस्कृत व्याकरण र कर्मकाण्ड सहितका बिषय अध्यापन गराईने विद्याश्रममा बटुकहरु लाई पूर्ण निःशुल्क रुपमा पढाईदै आएको उनले बताए ।

वेद विद्याश्रम संचालनका लागि एक सभा कक्षासहित १४ कोठको भवन निर्माण गरिएको छ । २०७६ देखि निर्माण थालिएको भवनमा करिब डेढ करोड रकम खर्च भएको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेज बहादुर साँकीले बताए । उनका अनुसार पर्यटन मन्त्रालय, पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापती शेर बहादुर देउवा र तत्कालिन सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लको सांसद विकास कोषबाट उक्त रकम खर्च भएको उनले जानकारी दिए ।