काठमाडौं । लेबनानस्थित तैनाथ शान्ति सेनामाथि इसराइलले गरेको आक्रमणको नेपालस्थित ३४ राष्ट्रले निन्दा गरेका छन्।
परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी युनाइटेड नेशन इन्टरिम फोर्स इन लेबनान ९युएनआईएफआइएल०का शान्ति सैनिकहरूमाथि भएको आक्रमणको निन्दा गरेको हो। यसमा नेपालसहित ३४ राष्ट्रले हस्ताक्षर गरेका छन्।
यस्तै यस द्वन्द्धमा सामेल रहेका सबै राष्ट्रलाई शान्ति सैनिकको सुरक्षाको सुनिश्चितता गर्न पनि अनुरोध गरेको छ।
‘यस्ता गतिविधि यथासिघ्र रोकिनुपर्छ र अनुसन्धान गरिनुपर्छ,’ परराष्ट्रमन्त्रालयले भनेको छ।
नेपालसँगै अर्मेनिया, अष्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एल(साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्यान्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेशिया, आयरल्यान्ड, इटाली, काजकिस्तान, कोरिया, लात्भिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्यान्ड्स, पोल्यान्ड, कतार, सिएरा लियोन, स्पेन, श्रीलंका, टर्की, बेलायत, उत्तरी आयरल्यान्ड र तान्जनियाले निन्दा गरेको हो।
यी सबै राष्ट्रबाट शान्ति सैनिक खटिएका छन्।
विज्ञप्तिमा सबै राष्ट्रले दक्षिणी लेबनान र मिडल इस्टमा स्थिरता र शान्ति ल्याउनु मुख्य उद्देश्य रहेको युएनआईएफआइएल मिशन र यसको गतिविधिलाई समर्थन रहेको उल्लेख छ।
आइतबार लेबनानमा रहेको युएनआईएफआइएलको बेसमा इसराइली डिफेन्स फोर्सले आक्रमण गरेको थियो।
इसराइली सेनाले बेसमा रहेको मुख्य गेट भत्काएको र कम्तिमा १५ जना सामान्य घाइते भएको जनाएको छ। घाइते सबै शान्ति सैनिकको उपचार भइरहेको युएनआईएफआइएलले जनाएको छ।













