१४ वर्षीया आरतीको हत्याः पोस्टमार्टम रिपोर्टमा यस्तो

Image

डडेल्धुरा । अमरगढी नगरपालिका ७ पोखराकी १४ वर्षीया किशोरी आरती भट्टराईको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको पोष्टमार्टम रिपोर्टले घाँटी थिचेर आरतीको मृत्यु भएको देखाएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार आरतीको श्वासप्रस्वास प्रणाली बन्द भएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको बताए ।

बलात्कारपछि हत्या भएको हो वा होईन भन्ने सावलमा श्रेष्ठले भने, ठ्याक्कै पोस्टमार्टम रिपोर्टमा बलात्कार नै भनेर लेखिएको छैन । तर, प्राइभेट पार्टमा संघर्ष भने देखाइएको छ । विस्तृत परीक्षणपछि थप कुरा खुल्छ ।

डिएसपी श्रेष्ठका अनुसार भजाइनल स्वाब परीक्षणका लागि महाराजगञ्जस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । २५ गते आरती अमरगढी नगरपालिका ७ कै पोखरा बजारमा मृत फेला परेकी थिइन् । उनको शव प्लास्टिकको बोरामा फेला परेको थियो ।

भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले सार्वजनिक गरिसकेको छ । उनको पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेशनरी पसल छ । उनले पसलमै भट्टराईको घाँटी थिचेर हत्या गरेको स्वीकार गरिसकेको प्रहरीको दाबी छ ।

यसरी भएको थियो घटना

१४ वर्षीया किशोरी भट्टराई २५ गते दिउँसोसम्म पोखरा बजार भन्दा तल रहेको भाटागाउँको आफ्नै घरमा थिइन् । ४ बजे उनी गहुँ पिस्नका लागि स्थानीय पोखरा बजारको मिलमा गइन् । पोखरा बजारको एक पसलबाट उनले चप्पल पनि खरिद गरिन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी श्रेष्ठका अनुसार उनी हत्या आरोपी भण्डारीको पसलमा ५ बजे पुगेकी थिइन् । ‘स्थानीय नै रहेका भण्डारीसंग ती किशोरीको चिनजान एक वर्ष पहिलेदेखि नै थियो,’ डिएसपी श्रेष्ठले भने, ‘पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको बताएका छन् । हत्यापछि भण्डारीले प्लास्टिकको बोरामा किशोरीको शव हालेको बताएका छन् ।’

करिब साढे ५ बजेको समयमा आरोपित भण्डारीले आरतीको शव राखिएको प्लाष्टिकको बोरा (सामान जस्तै बनाएर) पसल भित्रै राखे । हतारहतार पसल बन्द गरेर भाग्ने क्रममा उनको मोटरसाइकल पसल अगाडि नै ढल्यो । पोखरा क्षेत्रको सुरक्षाका लागि खटिएका प्रहरी टोलीले खसेकको देखेपछि भण्डारीको मोटरसाइकल उठाइदिए ।

त्यसपछि भाग्नकै लागि उनी डडेल्धुरा सदरमुकाम हुँदै पोखराबाट १० किलोमिटर टाढाँ स्याउले बजार पुगे । ‘आफ्नै पसलमा शव राखेर स्याउले पुगेपछि भण्डारीको मनमा डर पैदा भएको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘त्यसपछि भण्डारीले तीन किलोमिटर वर फिर्ता भएर जिल्ला सदरमुकामस्थित तुफानडाँडामा मदिरा पिएको खुलेको छ ।’ ६ः२४ बजे उनले आफ्नी श्रीमतीलाई फोन गरेर आज घर आउन ढिला हुने बताउन छन र मोबाईलको स्वीच अफ गर्छन ।

ती प्रहरीका अनुसार मदिरा पिएर पोखरा फर्किदा रातिको साढे ९ बजिसकेको थियो । त्यसपछि उनले आफ्नो पसल खोले । शव व्यवस्थापनका लागि योजना बनाए । म १ प १४५४ नम्बरको आफ्नै मोटरसाइकलमा शव बाँधेर व्यवस्थापन गर्ने तयारीमा थिए उनी । ‘तर, सोही समयमा कुकुर भुक्न थालेपछि भण्डारी अलमलमा परे र मोटरसाइकल नालीमा खस्यो’ प्रहरी नायब उपरीक्षक श्रेष्ठ भन्छन्, ‘त्यसपछि पोखरा बजारको १० मिटर पूर्वतर्फ शव फाँलेर भण्डारी भागेको अनुसन्धानबाट खुलेको छ ।

तर, उनको ढाँका टोपी र चप्पल भने शव फालेकै स्थानमा छुट्यो ।’ त्यसपछि सो ठाउँमा मृत किशोरी फेला परेको भन्दै प्रहरीलाई १० बजे खबर भएको छ । शव फालेपछि नजिकै रहेको घर गएका भण्डारी भने शौचालयमा लुकेको अवस्थामा दसैँको दिन बिहान ३ बजे पक्राउ परेका हुन् ।

यता स्थानीय बासिन्दा भने बलात्कारपछि हत्या भएको बताउँदै आएका छन् । उनीहरुले हत्यामा अन्यको पनि संलग्नता रहेको आरोप लगाएका छन् ।