डडेल्धुरा । दोस्रो संस्करणको ‘जय भुवन कप’ जिल्लास्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। आयोजक जय भुवन युवा क्लब ऐरोडाले शुक्रबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी यही कात्तिक १२ देखि १६ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको छ।
‘पर्यटन प्रवर्द्धन र सामाजिक सद्भावसहित स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमले ८७ हजार रुपैयाँ र द्वितीय हुने टिमले ४७ हजार रुपैयाँ तथा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष किरन ऐरले जानकारी दिए।
प्रतियोगिताको उत्कृष्ट ब्याटर, बलर र खेलाडीलाई पनि ट्रफीका साथै नगद पुरस्कार दिइने उनले बताए। अध्यक्ष ऐरका अनुसार युवाहरूलाई एकताको सूत्रमा बाँधेर मित्रता, सद्भाव बढाउने र खेल विकास गर्दै सामाजिक एकता र आपसी सम्बन्ध मजबुत बनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो।
जिल्लास्तरीय प्रतियोगिता भनिएपनि टिममा जिल्ला बाहिरका ४ जना खेलाडी राख्न पाइने उनले बताए। उनले भने, ‘आईसीसीको नियमअनुसार खेलहरू खेलाउनेछौँ। पुरस्कार राशिमा नियमानुसार २५ प्रतिशत करकट्टी गर्नेछौँ।’ कात्तिक ९ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने र दर्ता शुल्क १० हजार तोकिएको छ।
प्रतियोगिताको मुख्य प्रायोजकमा नवदुर्गा गाउँपालिका रहेको छ। प्रतियोगिताका खेलहरू नवदुर्गा गाउँपालिका–१ कोटेली ऐरोडाको चोरा खेलमैदानमा हुनेछन्।












