डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजमा बिएस्सी नर्सिङ र पब्लिक हेल्थको पनि अध्यापन हुने भएको छ । चिकित्सा शिक्षा आयोगले भदौ महिनामा सिट निर्धारण गरेकोले अहिले सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय डडेल्धुराले बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि भर्नासमेत खोलेको छ ।
‘चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्ति तर्फको पहिलो चरणमा म्याचिङ भई आएका विद्यार्थीका लागि भर्ना सम्बन्धि सूचना जारी गरेको थियो,’ सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीले भने, ‘सोहीअनुसार डडेल्धुरामा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, बिएस्सी नर्सिङ र पब्लिक हेल्थमा भर्नाका लागि सिफारिस भएका विद्यार्थीलाई भर्ना गर्न स्वास्थ्य विज्ञान संकाय डडेल्धुराले सूचना जारी गरेको छ ।’ उनका अनुसार बिएस्सी नर्सिङका लागि २० तथा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थको लागि १०/१० जनाको सिट आयोगले निर्धारण गरेको थियो । १४ गतेसम्म भर्नाको अवधि तोकिएको छ ।
सिट निर्धारण गर्दा चिकित्सा शिक्षा आयोगललाई अर्थ मन्त्रालयले स्रोत सहमति दियो भने मात्रै अध्यापन सुरु हुने बताएको थियो । तर, सुदूरपश्चिम विश्वविद्यालयले अर्थको सहमति नहुँदासम्म विश्वविद्यालयले नै जिम्मा लिने पत्र आयोगलाई पठाएपछि भर्ना प्रक्रिया अगाडि बढाइएको डिन जोशीले बताए ।
सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेको झण्डै दुई वर्षपछि पहिलोपटक २०८० साल असोजमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको थियो । त्यो समयमा पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएकोमा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको अध्यापन अनुमति मात्रै पाएर गत वर्षदेखि पढाई सुरु भएको थियो । यो वर्षदेखि थप दुई विषयको अध्यापन हुने भएको हो ।
एमबीबीएस अध्यापनका लागि भने डडेल्धुरा अस्पतालको स्तरोन्नति हुन आवश्यक छ । ‘अहिले डडेल्धुरा अस्पताल एक सय शय्याको स्वीकृत दरबन्दीअनुसार सञ्चालन भइरहेको छ,’ डिन जोशीले भने, ‘डडेल्धुरा अस्पताल स्तरोन्नति भएर तीन सय शय्यामा सञ्चालन भएको तीन वर्षपछि मात्रै हामीले एमबीबीएसको अध्यापन अनुमति पाउनेछौँ ।’ उनका अनुसार, मेडिकल कलेजमा एमबीबीएसको अध्यापन गराउनका लागि तीन वर्षसम्म तीन सय शय्याको अस्पताल सञ्चालन गरेको हुनुपर्छ ।













