देउवाले धनगढीबाट भने, हाम्रा सांसदलाई मुद्दा चलाउँदा कहिल्यै होहल्ला गरेनौं

Image

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेको पक्राउलाई राजनीतिक पूर्वाग्रह भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कैलालीको धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त्त कुरा गर्दै यस्तो बताएका हुन् ।

सहकारी प्रकरणमा एउटा पार्टीको सभापतिलाई राजनीतिक पूर्वाग्रह भएर पक्राउ गरियो भन्ने आरोप लागेको छ । यसमा काँग्रेसको प्रतिक्रिया के छ ? भन्ने प्रश्नमा देउवाले भने, हाम्रा सांसदलाई मुद्दा चलाइयो । तर, हामीले कहिल्यै होहल्ला गरेनौं । अदालती प्रक्रियामा गएको कुरा त अदालतले फैसला गर्ला नि ।

देउवाले अहिलेको गठबन्धन पुरै कार्यकाल टिक्ने पनि दाबी गरे । अहिले गठबन्धनमा कुनै समस्या छैन । पुरै समय टिक्छ, उनले भने ।

देउवा एक साताका लागि गृहजिल्ला सुदूरपश्चिम आएका हुन् । नेपाली काँग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँदका अनुसार देउवा सोमबार गृहजिल्ला डडेल्धुरा पुग्ने कार्यक्रम छ । डडेल्धुरामा कार्यकर्ता भेटघाटका कार्यक्रमदेखि देवीदेवताका विभिन्न पूजाआजा मेलामा सभापति देउवा सहभागी हुने कार्यक्रम तय भएको उनले बताए ।

देउवा चौलोले प्रख्यात बडाल जाँत र उग्रतारा मेलामा सहभागी हुने सभापति साउँदले बताए । बडाल जाँत देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिका–२ मा २७ गते लाग्ने छ भने उग्रतारा मेला जिल्ला सदरमुकामको अमरगढी ८ मा १ मंसिरमा लाग्ने छ ।

देउवाले सोमबार कात्तिक २६ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा भेटघाट गर्ने कार्यक्रम तय भएको छ । काँग्रसका अनुसार कात्तिक २८ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैठकमा उनी सहभागी हुने छन भने २८ गते नै पालिकास्तरीय भेटघाट, २९ गते पनि भेटघाट कार्यक्रम, ३० गते जन्मस्थान गन्यापधुरा गाउँपालिका– १ रुवाखोला जाने कार्यक्रम तय भएको छ ।

देउवा मंसिर २ गते गृहजिल्लाबाट फर्किने कार्यक्रम रहेको जनाइएको छ । देउवा पछिल्लो पटक २०७९ मा भएको निर्वाचनमा चुनाव प्रचारप्रशार र मतदानका लागि गृहजिल्ला पुगेका थिए ।