काँग्रेस सभापती देउवाद्धारा परशुराध धामको दर्शन, अधुरा योजना निर्माण गरिने

Image

डडेल्धुरा । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापती शेर बहादुर देउवा महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरेका छन । सोमबार परशुराम धाममा पुगेर उनले यहाँका अधुरा योजना सम्पन्न गरिने बताए । रंगुन नदीमा अधुरो रहेको तटबन्ध निर्माण, परशुराम नगरपालिका वडा नं. ६ र १२ जोड्ने रंगुन नदी र सलुन–शिर्ष–रुपाल जोड्ने सडक खण्डमा पक्कि पुल निर्माण, सडक बाटोको स्तरोन्नती र कालोपत्रे गरिने सभापती देउवाले बताए ।

देउवा एक साता लामो बसाईका लागि सोमबार गृह जिल्ला डडेल्धुरा पुगेका हुन । सोमबार बिहान उनले चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकन गरे पछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले जानकारी दिए ।

भेटघाटका कार्यक्रमसंगै उनँले परशुराम धाममा पुगेर दर्शन गरेका हुन । परशुराम धाम नेपालका चार वटा धाम मध्येको एक हो । धाममा पुगेर देउवाले यस क्षेत्रको विकासका लागि सधै लागि परेको बताए । डडेल्धुरा प्राकृतिक रुपमा रमणिय जिल्ला र थुप्रै धार्मिक स्थल, शक्तिपिठ भएको जिल्ला पनि भएकाले धार्मिक पूर्वाधारहरुको विकास गरेर धार्मिक क्षेत्रको विकास गर्ने उनले बताए । धार्मिक पूर्वाधारहरु निर्माण भएपछि यहाँको जनजीविकामा परिर्वतन हुने उनको भनाई थियो ।

परशुराम धामको विकासका लागि गुरु योजना बनाई केही वर्ष यता राम्रो बजेट विनियोजन भएर बाबा परशुरामको मूर्ती निर्माणसंगै मन्दिरहरु, धर्मशाला, सडक बाटोलगायतका पूर्वाधारहरु निर्माण भएकाले दशर्नार्थीहरुलाई सहज हुदै गएको उनले बताए ।

परशुराम धामलाई पारि तर्फ रहेको भारतको माँ पूर्णागिरिको मन्दिरसंग जोड्न धाम नजिकै भारत सरकारले पक्कि मोटरेवल पुल निर्माणको काम अघि बढाएको उनले बताए । पुल र सडक बाटो बने पछि धार्मिक गतिबिधिसंगै स्थानीयलाई सहज हुने उनको भनाई छ । महाकाली करिडोर परशुराम धामलाई छोएर बनाउने योजना अनुसार अहिले सडक निर्माणको काम धमाधम भईरहेकोले यसले पनि दिर्घकालिन रुपमा सहजता प्रदान गर्ने उनले बताए ।

उनले लालढुंगा बजारमा रहेको जोगबुडा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने उल्लेख गरे । ५० शय्याको अस्पतालमा स्तरोन्नती भईरहेको जोगबुडा अस्पतााललाई प्रादेशिक अस्तालमा गाभेर पूर्वाधारसहित बिषेशज्ञ सेवा सञ्चालन गरिने बताए ।

बुडरबाट जोगबुडा जाने सडक बाटो भएकाले देउवा हिजो राती बुडर नै बसेको नेपाली काँग्रेस डडेल्धुराका सहसचिव गोबिन्द बोहराले बताए । जोगबुडा भनेर चिनिने चुरे क्षेत्रको परशुराम नगरपालिका कञ्चनपुर र भारतसंग सिमा जोडिएको छ । चुरेको सम्म परेको भूभाग उर्वर भएका कारण जिल्लाको झण्डै आधा जनसंख्या जोगबुडा क्षेत्रमा छ ।

देउवा भित्रिमधेश जोगबुडा क्षेत्रको भ्रमण, भेटघाटका कार्यक्रम सकाएर सोमबार बेलुकी जिल्ला सदरमुकाम आउने कार्यक्रम रहेको छ । देउवा भोली मंगलबार बडाँलको लाटा गन्याप देवताको पूजाआजा जाँत (मेला)मा सरिक हुने उनले बताए । बडाँल जाँत दाईन दमाह, भोकर, रुईसिंग बाजाको धुनमा हातमा नांगो तलबार खेलाउदै खेलिने छाला (नाँच) चौलोले प्रशिद्ध छ । बडाल उनको गृह पालिका गन्यापधुरा गाउँपालिका २ मा पर्छ ।

बुधबार कात्तिक २८ गते काँग्रेस डडेल्धुरा कार्यसमितिको बैठक, २९ गते भेटघाट, ३० गते जन्मथलो गन्यापधुरा गाउँपालिका १ रुवाखोलामा र मंसिर १ गते उग्रतारा मेला (देहिजाँत) जाने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । देउवा मंसिर २ गते संघिय राजधानी काठमाडौँ फर्किने कार्यक्रम छ ।