बैतडी । उचित मूल्य नपाउदा अर्गानिक तरकारी फलाउने किसान निराश भएका छन । भारतलगायत नेपालकै बाहिरी जिल्लाबाट भित्रिने तरकारीसँग गाउँको जैविक (अर्गानिक) मल हालेर फलाइएका तरकारीले बजारमा प्रतिस्पर्धा गर्न नसक्दा बबेत गाउँका किसान निराश बनेका छन् ।
बाहिरी जिल्लाबाट भित्रिने टमाटरलगायतका तरकारी लामो समयसम्म नबिग्रने भन्दै बिचौलियाले स्थानीय तरकारीको उचित मूल्य नदिएको किसानले गुनासो गरेका हुन् ।
दशरथ चन्द नगरपालिका–४, बबेत गाउँकी विमला वडले जैविक मल प्रयोग गरेर तरकारी फलाउन थालेको चार वर्ष भयो । रोगकिरा नियन्त्रण गर्न उनी खेतबारीमा गौमूत्र छर्किन्छीन । उनको बारीमा अहिले काउली, पालुङ्गो, धनियाँ, मुला र रायो प्रशस्तै फलेका छन् । यद्यपि तरकारीले उचित मूल्य नपाउँदा उनी निराश बनेकी छन ।
जैविक मल प्रयोग गर्ने बबेत गाउँका किसानलाई स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले बिउबिजन, सिँचाइ, पोलिहाउस जस्ता अनुदानका कार्यक्रम नदिएको विमलाले गुनासो गरिन ।
बबेत गाउँमा न तरकारी सङ्कलन केन्द्र छ, न त ढुवानीको सुविधा छ । दशरथ चन्द नगरपालिकाले १३ लाख रुपियाँ खर्च गरेर चार वर्षअघि निर्माण गरेको सडकमा घाँस र बुट्यान उम्रिएपछि किसानले घण्टौँ पैदल हिँडेर डोकोमा तरकारी बेच्दै आइरहेको स्थानीय ललित वडले बताए।
जैविक मल हालेको तरकारी विषादी हालेको तरकारीको भन्दा कम मूल्यमा बेच्नु परेको अगुवा किसान विमला वडले दुःखेसो पोखे । “गोठेमल र गौमूत्र प्रयोग गरेर बेबत गाउँका १५ जना किसानले अर्गानिक तरकारी खेती सुरु गरेका छौँ,” उनले भने, “झिसमिसेमै डोकोमा तरकारी बोकेर बजारका पसल पसल चहार्दै हिँड्नु पर्छ । बिचौलियाले बाहिरी जिल्लाबाट आउने तरकारी भन्दा सस्तोमा किन्न खोज्छन् । घर फर्काएर ल्याउनुभन्दा सस्तोमै बिक्री गर्नुपर्ने बाध्यता छ ।”
बैतडीस्थित कृषि ज्ञान केन्द्र र नगरपालिकामा रहेको कृषि शाखाले बजारमा बिक्री भइरहेको तरकारीमध्ये विषादी प्रयोग गरेको र नगरेको तरकारी छुट्याइदिए स्थानीय किसानलाई सहज हुने अगुवा किसान जगदीश वडले बताए । अर्गानिक तरकारी खेती गर्ने किसानको बारीदेखि बजारसम्मको तरकारी परीक्षण गरिदिन उनले माग गरेका छन ।












