डडेल्धुरा । चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न नौ वटा खेल मैदान निर्माण गर्ने शिर्षकमा १ करोड ८७ लाख बजेट छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास कार्यालय डडेल्धुरामा यो बजेट छ । खेल मैदान निर्माण शिर्षकमा १० वटा योजना भए पनि एउटा डोटीको केआई सिंह ७ चण्डेश्वरी आवि खेलमैदान निर्माण शिर्षक रहेको छ । यसको बजेट १० लाख रुपियाँ छ ।
सामाजिक विकास कार्यालय प्रमुख राधाकृष्ण जोशीका अनुसार डडेल्धुरामा खेल मैदान निर्माणका लागि सबै भन्दा बढी ३५ लाख बजेट गन्यापधुरा गाउँपालिका १ भातकाँडाको सरस्वती माविमा छ ।
यस्तै जिल्ला खेलकुद विकास समितिको खेल मैदान निर्माणका लागि अमरगढी नगरपालिका ४ मा ३२ लाख, परशुराम नगरपालिका १ को कैलपाल माविको खेल मैदान निर्माणका लागि २५ लाख, परशुराम नगरपालिका २ बसौटीमा रहेको सरस्वती माविको खेल मैदान निर्माण गर्न १० लाख, अमरगढी ५ मा ब्याटमिन्टन खेल मैदान निर्माण गर्न १० लाख, भागेश्वर गाउँपालिका १ को कैलपाल माविको खेलमैदान निर्माण गर्न २५ लाख बजेट छ ।
यसैगरी आलिताल गाउँपालिका ७ र ४ मा बान्नेगडा गोरेघर मेलगजा खेल मैदान कोईली विद्यालय मैदान निर्माण भन्ने शिर्षकमा १५ लाख, गन्यापधुराको भुवनेश्वरी आवि कक्षा कोठा मर्मत र समैजी प्रावि थलकोटको खेल मैदान निर्माणका लागि १० लाख रकम प्राप्त भएको कार्यालय प्रमुख जोशीले बताए ।












