डडेल्धुरा । संघियता व्यवस्था भए यता सुदूरपश्चिम प्रदेशका प्राय सबै जिल्लाहरुमा मन्दिर निर्माणमा ठूलो बजेट खर्च हुदै आएको छ । सुदूरपश्चिमका हरेक वनजंगल, डाडा, क्षेत्रहरुमा विभिन्न देविदेवताका थान स–साना मन्दिर रहेका छन । गाउँ नजिकका र ईष्ट कुल देवताका मन्दिरहरु ठूला र भव्य पनि छन । जति धेरै गाउँवस्तिको मूख्य पूजाआजा गर्ने मन्दिर छन त्यती नै ठूला र प्रशिद्धि कमाएका पनि छन ।
कुनै पनि काम गर्न अघि देवतालाई साँची राखेर र बरदान माग्दै भाकल गर्ने चलन सुदूरपश्चिमा छ । यस कारण पनि मन्दिरहरुमा हरेक वर्ष बजेट पर्ने गरेको छ । मन्दिर निर्माण र जिर्णोद्धारका नाममा कंक्रिटको प्रयोग बढेसंगै यहाँको प्राचिन कला शैली हराउदैसमेत गईरहेको छ । तर डडेल्धुराका केही मन्दिरहरु थोरै लगानीमा पनि प्राचिन कलाशैली झल्किने गरि निर्माण एवं पुनर्निर्माण गरिएका छन ।
डडेल्धुराको प्रशिद्ध धार्मिक शक्तिपिठ उग्रतारा मन्दिरमा कंक्रिटको प्रयोग गरि जिर्णोद्धार गरिए पनि प्राचिन शैलीमा पुनर्निर्माण गर्न बजेट परेको थियो । तर काम हुन सकेको छैन । केही मन्दिरहरु भने ढुंगा, माटो, तामा, देवदारको काठ प्रयोग गरि प्राचिन शैलीमा निर्माण र जिर्णोद्धार भने गरिएका छन ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ८ किर्तिपुर बजर नजिकै पूर्व तर्फ बकिण्णे गाउँमा रहेको भूमिराज देवताको मन्दिर प्यागोडा शैलीमा प्राचिन मौलिकता झल्किने गरि जिर्णोद्धार गरिएको छ । गत वर्ष वडाको करिब १० लाख रकम र बाँकी रकम चन्दा संकलन गरि प्यागोडा शैलीमा तीन तले गात मन्दिरमा आँखीझ्याल राखेर तामाले छाईएको छ । करिब ४० लाख बढी लागत रकममा मन्दिरको जिर्णोद्धार गरिएको स्थानीय एवं अग्रज पत्रकार श्याम भट्टले बताए ।
बकिण्णेवासी भट्ट, खुल्लेकवासी ओझा र हतर्कावासी भूल थरीले बिशेष पूजाआजा गर्ने भूमिराज मन्दिर गाउँमूनीको खोलाबाट करिब डेढसय वर्ष अघि बकिण्णे गाउँ नजिक सरेको किम्बदन्ति रहेको उनले सुनाए । भूमीराज देवता उनीहरुको ईष्टकुल देवता पनि हुन । मन्दिरको पश्चिम तर्फको डाडामा बेताल, समैजी, महेश्वरी लगायतका थुप्रै देविदेवताका थानहरु रहेको उनले बताए । मन्दिर नजिकै पानी भर्ने न्वालोसमेत छ ।
पुरानो मन्दिरलाई जिर्णोद्धार गर्ने क्रममा अलि ठूलो बनाईएको छ । प्राचिक शैली झल्किने गरि पशुपतीनाथको मन्दिर प्यागोडा शैलीमा मन्दिर पुनर्निर्माण गरिएको उनले बताए । प्यागोडा शैलीमा पनि सुदूरपश्चिममा आफ्नै मौलिकताको कलाशैली भएकाले पुरानो मौलिकता झल्किने गरि मन्दिर निर्माण गरिएको उनको भनाई छ ।
भूमीराज मन्दिरमा नयाँ वर्ष वैशाख १ गते बिशुका दिन र दसैंका दिन भव्य पूजाआजा गरिन्छ । यी दिन विहान भूमिराज बाबाको पूजाआजा गरि टिका फूल, तिलक प्रसाद ग्रहण गरेर मात्र घरमा टिका फूल गर्ने धार्मिक परम्परा रहिआएको उनले बताए ।

अमरगढी नगरपालिका वडा नं. ७ को लेगी समैजी मन्दिरको शिवालयमा लगाईएको कंक्रिट हटाई ढुगामाटोको भित्ता निर्माण गरि प्यागोडा शैलीको छानोमा तामाले छाईएको छ । अमरगढी नगरपालिकाको करिब २० लाख रुपयाँ लागतमा मन्दिको कंक्रिट र पत्थरले छाएको छानो हटाई प्राचिन शैलीमा मन्दिरको पुनर्निर्माण गरिएको वडा नं. ७ का वडा अध्यक्ष खडक बोहराले बताए ।
थप रकम स्थानीयहरुले चन्दा संकलन गरेको उनले बताए । लेगी समैजी मन्दिरमा दसैंका दिन र तिहारमा भाईटिका पछि १० दिनमा पूर्णिमाका दिन भव्य पूजाआजा हुने धार्मिक परम्परा रहिआएको छ ।
यस्तै वडा नं. ७ कै गाडीखेत माथि रहेको भूमिराज देवताको मन्दिर पनि प्राचिन कला शैली झल्किने गरि पुनर्निर्माण गरिएको उनले बताए । ठूला ठूला आकारका ढुंगामा फलामको छिनो प्रयोग गरि बराबर आकार दिईएका छन । छिनोको लामो धर्का पारी ढुंगा काटिने भएकाले पर्खालमा ढुंगा जोडेको ठम्याउन सजिलै सकिदैन ।
छिनोको प्रयोग गरि काटिएका ढुंगामा माटोको मसिनो गाह्रो बनाई देवदारको काठ प्रयोग गरि मन्दिरको छानो प्यागोडा शैलीमा तामाले छाईएकाले प्राचिन मौलिक शैलीमा मन्दिर पुनर्निर्माण गरिएको उनले बताए ।
पछिल्ला वर्षहरुमा गाउँघरमा रहेका प्यागोडा शैलीका घरहरु जिर्णा हुदै जाँदा कंक्रिटको प्रयोग गरि पक्कि छत भएका घर र मन्दिरहरु निर्माण हुन थालेका छन । कंक्रिटको प्रयोग गरि निर्माण गरिने मन्दिर र घरको मौलिकता हराउदै गएका कारण मौलिक शैलीमा मन्दिर निर्माण गर्ने क्रम बढेको उनले बताए ।












