डडेल्धुरा । उमेरले २२ वर्ष पुगेका एक युवाले गाउँको बाँझो जमिनमा लोभ लाग्दो कागती, सुन्तलालगायतका फलफूल खेती गरिरहेका छन । डडेल्धुरा जिल्ला सदरमुकाम भन्दा करिब २५ किलोमिटर टाढा महाभारत पर्वतको जंगल मूनीको दुर्गम वस्तिको आफ्नो जमिनमा १५ सय बढी कागती र एक हजार बढी सुन्तलाका विरुवा हुर्काई रहेका छन ।
भागेश्वर गाउँपालिका वडा नं. ५ को शिराड गाउँका युवा सरोज चाडले गाउँमा कागती, सुन्तलालगायतका फलफूल खेतीसंगै गड्यौला मलसमेत उत्पादन गरिरहेका छन । यस वर्ष देखि कागती फल्न थालेसंगै उनको आम्दानी हुन सुरुवात भएको छ ।
सरोजको एउटा बारीमा एक हजार बढी सुन्तलाका विरुवा हुर्किरहेका छन भने अर्काे बारीमा १५ सय बढी कागतीका बोटले फल दिन थालेका छन । उनको पढाई भने काठमाडौंको शंकरदेव क्याम्पसमा व्यवस्थापन संकाय तर्फ तेस्रो वर्षमा चलिरहेको छ ।

मनिषा कृषि पशुपंछी गड्यौला मल उत्पादन फर्म दर्ता गरि उनले फलफूलसंगै गड्यौला मल उत्पादन गरिहेका छन भने सुन्तला बारीमै लसुन र प्याज खेतीसमेत गरिहरका छन । उनको घरमा दुई वटा भैंसीसंगै पाँच वटा बाख्रा पनि छन । भैसी, बाख्राको गोठे मल र गड्यौला मल उनले आफ्नै बारीका बोट विरुवा हुर्कान प्रयोग गर्छन ।
बाजेले २०४० सालमा नै गाउँको बारीमा मौसमका विरुवा रोपेका रहेछन । उनले भने, मेरो जन्म भन्दा पहिले नै बाजेले गरेको मौसमी खेतीबाट म फलफूल खेती तर्फ आकर्षित भए । त्यो समय न सडक थियो न बजार नै थियो । तर पनि बाजेले मौसमी खेती गरेका रहेछन । अहिले गाउँमा सडक पुगेको छ । बजारको समस्या छैन । जमिन बाँझै रहेपछि कागती खेती गरेको हु ।

उनको घर नजिकैको जमिनमा सिंचाईको सुबिधा छ । रोपाई गरेर धान खेती पनि गरिन्छ । सिंचाईको सुबिधा भएकाले गहुँको उत्पादन पनि राम्रै हुन्छ । तर उनले यो सबै बारीमा सुन्तलाका विरुवा रोपेका छन भने सुन्तलासंगै लसुन र प्याज खेती गरिरहेका छन । करिब ५०० सुन्तलाका विरुवाले यस वर्ष देखि फल दिन सुरु गरेको उनले बताए ।
सुन्तला र कागतीले यस वर्ष देखी मात्रै फल दिन सुरु गरेकाले उत्पादन भएको कागती र सुन्तलाबाट करिब तीन लाख रुपियाँ आम्दानी भएको उनले बताए । आफु अध्ययनका लागी काठमाडौं बस्दा घरमा बाजे, बजैसंगै ठूलो बुवाले बारीको रेखदेख गर्ने उनले बताए ।












