डडेल्धुरा । दोस्रो पटक डडेल्धुराका सबै किशोरीहरु लाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपिभी) लगाईने भएको छ । विद्यालय जाने किशोरीका हकमा कक्षा ६–१० मा अध्ययरत सबै र विद्यालय नजानेका हकमा उमेर १०–१४ वर्षकालाई खोप लगाईने स्वास्थ्य कार्यालय डडेल्धुराका तथ्यांक अधिकृत जनक चन्दले बताए । यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभर खोप अभियान सञ्चालन भइरहेको उनले बताए ।
सोमवार स्वास्थ्य कार्यालय डडेल्धुराले आयोजना गरेको जिल्ला स्तरीय खोप समन्वय समिति र संचारकर्मीहरु लाई अभिमूखिकरण तथा अन्थतरक्रिया कार्यक्रममा उनले गत वर्ष नमूना परिक्षणका रुपमा ३८१ किशोरीहरु लाई एचपिभी खोप दिईएको र यस पाली भने सबै किशोरीहरु लाई दिईन लागेको जानकारी दिए ।
उनका अनुसार गत वर्ष नेपाल सरकारका सात वटा प्रादेशिक अस्पतालबाट लगाईन लागेको भ्याक्सिन सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा रहेको डडेल्धुरा अस्पतालबाट लगाईएको थियो । १० वर्ष पुरा भई १४ ननाघेका किशोरीहरुलाई विद्यालयबाट बोलाई डडेल्धुरा अस्पतालमा खोप लगाईएको उनले बताए ।
स्वास्थ कार्यालय डडेल्धुराका अधिकृत हरि भट्टका अनुसार सरकारले कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका ६ हजार ९६८ किशोरीलाई यो खोप लगाईदै छ । विद्यालयमा रहेका किशोरीको संख्या ६ हजार ९६२ र विद्यालय बाहिर रहेका किशोरीहरुको संख्या अहिले सम्म २४ रहेको तथ्यांक पाईएको छ । खोप अभियानमा सबै किशोरीहरु समावेश गरिने उनले बताए ।
खोप अभियान अमरगढी नगरपालिकामा माघ २२ देखि ३०, परशुराम नगरपालिकामा माघ २२ देखि २७, आलिताल, अजयमेरु, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा माघ २२ देखि २७ र भागेश्वर गाउँपालिकामा माघ २२ देखि २५ गतेसम्म सञ्चालन हुने छ ।
सर्वप्रथम नेपालमा २०७२ सालमा कास्कि र चितवनमा यो भ्याक्सिन परिक्षणका रुपमा लगाउन सुरु गरिएको थियो । महिलामा मात्रै हेर्दा पाठ्घरको मुखको क्यान्सरको समस्या चौथो स्थानमा रहेको छ भने महिला पुरुष दुईवटैमा हेर्दा पाँचौ स्थानमा रहेको उनले जानकारी दिए ।
नेपालमा १९ प्रतिशत बढी समस्या पाठेघरको मुखको क्यान्सरको रहेको छ ।
वीपी मेमोयिल क्यान्सर अस्पताल भरतपुरले गरेको अध्ययन अनुसन्धानका आधारमा सन २०२० यता यसको समस्या बढ्दै गएको देखिएको छ । एक लाख महिलामा गरिएको अध्ययनले ३९ जनामा संक्रमण भएको देखिएको थियो । यसको संक्रमण ३५–६४ वर्ष उमेरका महिलाहरुमा छ । संक्रमणले मृत्युदर ६६ प्रतिशत बढी देखिएको छ । नेपालमा क्यान्सरका कारण हुने मृत्युदरमा सबै भन्दा पाठेघरको मुखको क्यान्सर कारण बनेको देखिएको छ ।
यसको रोकथामका लागि सबै भन्दा पहिलो भ्याक्सिन, जनचेतना, असुरक्षित यौन सम्पर्क नगर्नु नै हो । स्वास्थ्य कार्यालयका अधिकृत भट्टले भने, दोस्रो चरणमा स्क्रिनिङ, उपचार हो । र तेस्रो चरण निदान, उपचार, शल्यक्रिया र रेडियो थेरापी हो । धेरै व्यक्ति संग राखिने र असुरक्षित यौन सम्पर्क यसको मुख्य कारण भएकाले सचेतना अपनाउनु पर्ने उनले बताए ।












