किभि खेतीबाट गाउँमै युरोपको कमाई गर्दै एक्स आर्मी (भिडियो)

Image

डडेल्धुरा । नेपाली सेनाबाट अवकास पाएका एक युवाले किभिका विरुवाबाट युरोपको जस्तै आम्दानी गरिरहेका छन । सेनाबाट अवकास पछि उनले घरमै युरोपका देशमा हुने कमाई गरिरहेका हुन ।

नेपाली सेनामा १८ वर्ष सेवा गरेर गत वर्ष मात्रै अवकास पाएका खडक थापा मगरले डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका २ मौरडा नजिक कुस्माली गाउँमा किभिका विरुवा हुर्काउदै बिक्रि गरिरहेका छन ।

सुदूरपश्चिमका सबै पहाडी जिल्लाबाट उनको नर्सरीबारीमा किभिका बिरुवा खरिद गर्न किसानहरु पुगिरहेका छन । र अर्डर अनुसार विभिन्न जिल्लाहरुमासमेत विरुवा पुगाई रहेका छन । उनले करिब पाँच हजार बिरुवा हुर्काउन सकिने स्क्रिन हाउस बनाएका छन । अहिले उनलाई किभिका विरुवा बिक्रि गर्न भ्याई नभ्याई छ ।

रातो किभिको प्रति विरुवा दुई सय रुपियाँ र अरु जाँतका किभिका प्रति विरुवा १५० रुपियाँका दरले नर्सरीबाटै बिक्रि भईरहेको उनले बताए ।
उनले किभि खेती र नर्सरी बनाई विरुवा हुर्काउन आफ्नो दाईबाट सिकेका हुन । युटुव, गुगल गर्दा स्वास्थ्यको दृष्टिकोणले राम्रो भनिए पछि झनै आकर्षित भएको उनको भनाई छ ।

उनका आफ्नै जेठा दाई लक्ष्मण थापामगरले आतिताल गाउँपालिका २ मा पर्ने महाभारत पर्वतको काख लामिटुडामा किभि खेतीसंगै नर्सरी पनि बनाएका छन । लक्ष्मणले ध्रुव फलफुल तथा नर्सरी उत्पादन नाम फर्म दर्ता गरि २०७० सालमा दोलखाबाट ११० वटा किभिका बोट मगाई लामिटुडामा रोपेका थिए । उनलाई कृषि ज्ञान केन्द्र डडेल्धुराले सहयोग गरेको थियो ।

किभि रोप्नु पूर्व लक्ष्मण गाउँकै प्राविमा शिक्षक पेशा गर्दै आईरहेका थिए । उनको बारीमा किभिले २०७३ साल देखि नै फल दिन सुरु गरेको थियो । त्यो बेला प्रतिकेजी ४००–५०० रुपियाँसम्म पनि मूल्य पाएको थियो ।

घनघोर महाभारत पर्वतको काखमा किभि फलाई जिल्ला बाहिर निर्यात गर्ने व्यावसायीक किसानमा लक्ष्मण र जिल्ला सदरमुकाम नजिकै नसरी बनाई किभिका विरुवा निर्यातमा खडक थापामगर जमेर लागेका छन । जसबाट उनीहरुले घरकै बारीमा मेहनत गरि वर्षीक रुपमा राम्रो आम्दानी गर्न सफल भएका छन ।