किभिका लागि बन्यो डडेल्धुरामा शित भण्डार

Image

डडेल्धुरा । किभि फल भण्डारणका लागि जिल्लामा पहिलो शित भण्डार निर्माण गरिएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका १ दहमा किभिका लागि शित भण्डार निर्माण गरिएको हो । किभिको उत्पादन बढ्दै गएपछि शित भण्डार निर्माण गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए ।

डडेल्धुरामा हालसम्म ६ जना किसानले व्यावसायीक रुपमा किभि उत्पादन गर्दै आईरहेका छन । जिल्लाको अमरगढी नगरपालिका, आलिताल गाउँपालिका र अजयमेरु गाउँकापालिका किसानहरुले व्यावसायीक रुपमा किभि उत्पादन भईरहेको छ । यहाँ हाल करिब दुई हजार किभिका विरुवाहरुबाट हाल वार्षिक एक हजार कुन्टलसम्म किभि उत्पादन हुदै आएको छ । किभिको उत्पादन बढेसंगै मूल्यमा कमि आएको छ । आठ वर्ष पहिले पहिलो पटक किभि उत्पादन भएको डडेल्धुरामा प्रतिकेजी मूल्य ५०० रुपियाँसम्म थियो । तर हाल भने प्रतिकेजी २०० रुपियाँसम्म छ ।

अमरगढी नगरपालिका १ भेटादहमा किभि उत्पादन गर्दै आईरहेका श्री गणेश नमः कृषि फर्मका संचालक गणेशबहादुर ऐरले आफ्नै जमिनमा शित भण्डार निर्माण गरेका हुन । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान रकम र ५० प्रतिशत रकम आफुले लगानी गरि २० लाख रुपियाँ लागतमा शित भण्डार निर्माण गरेको उनले बताए ।

उनका अनुसार २०० कुन्टल क्षमताको शित भण्डार निर्माण गरिएको छ । हाल शित भण्डारमा उनको मात्रै करिब १५ कुन्टल किभि भण्डारण गरिएको छ । किभि उत्पादन गर्दै आईरहेका किसानहरुले किभि भण्डारणका लागि शित भण्डार आवश्यक भएको माग राखेका थियौ ।

उनले भने, गत आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्रमा ५० प्रतिशत अनुदानमा शित भण्डार निर्माणका लागि १० लाख रुपियाँ रकम विनियोजन गरिएको रहेछ । पछि अरु किसानहरुले निर्माणमा चासो राखेनन् । बजेट फिर्ता जाने अवस्था आए पछि १० लाख रकम खर्च गेर एक्लैले शित भण्डार निर्माण गरेको उनको भनाई छ ।

गएको मंसिर महिना देखि शित भण्डारमा किभि भण्डार गरिएको उनले बताए । उनको बारीमा दुई सय बोट किभिका छन । यस वर्ष करिब ५० कुन्टल किभि फलेको उनले बताए । शित भण्डारमा भण्डारण गरिएको किभि हाल प्रतिकेजी दुई सय भन्दा बढी मूल्यमा बिक्रि भईरहेको उनले बताए ।