शिक्षा ऐन पास गर्न संसदलाई दवाव दिन आवश्यकः नैनसिंह महर

Image

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षा विधेयक पास गर्न सरकार र संसदलाई दवाव दिनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियनका केन्द्रीय समितिद्वारा संयुक्त रुपमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महरले २०२८ सालदेखि शिक्षाको विकासका लागि नयाँ ऐन ल्याउन नसकिएको बताउँदै उनले शिक्षा विधेयक पास गर्न दवावको खाँचो रहेको औंल्याएका हुन् ।

विश्वले चेतना र प्रविधिका हिसाबले यो बीचमा ठूलो फडको मारेको छ। तर, हामी ऐनकै विषयमा अल्झिएका छौं । उनले भने, यस पटक पनि विधेयक पास गर्न सांसदहरूले खुट्टा लर्खाराउनु हुने हो कि भन्ने आंशका बढेको छ । यस्तो अवस्थामा विधेयक पास गर्न संसद र सरकारलाई ठूलो दवाव सिर्जना गर्न आवश्यक छ ।

सरोकारवालासँग थप छलफल र अन्तरक्रिया गरेर विधेयकमा सबैको सहभागिताको प्रत्याभूति दिलाउनसमेत आवश्यक रहेको महरले बताए । शिक्षकका वर्गिक सवाल, निःशुल्क र गुणस्तरीय जीवन उपयोगी शिक्षाका लागि कांग्रेस शिक्षक सँगसँगै रहेको उनको भनाइ छ ।

संसदको यसै हिउँदे अधिवेशनबाट आफ्ना माग समेटेर शिक्षा ऐन पास हुनुपर्ने मागसहित नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनप्रति लक्षित गर्दै नेता महरले आज संसार भरि अधिकारका लागि संघर्ष भएका तर कर्तव्य पालनाका लागि कमै मात्र संघर्ष देखिनु बिडम्बना भएको टिप्पणी गरेका छन् । उनले अबको संघर्ष अधिकार र कर्तव्यको संयोजनतर्फ अगाडी बडाउनु पर्ने बताए ।