सुदूरपश्चिमका भूकम्प प्रभावितलाई राहत वितरण सुरु

Image

डडेल्धुरा । दुई वर्ष अघि डोटी केन्द्र बिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरु लाई सरकारले राहत वितरण सुरु गरेको छ । प्रभावितहरुको स्थायी आवास निर्माणकालागि डडेल्धुराबाट राहत वितरण सुरु गरिएको हो । बिहिवार राती जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले डडेल्धुराको अमरगढी नगरपालीका–३ का प्रकाश उप्रेतीलाई पहिलो किस्ता वाफतको ५० हजार रुपियाँको चेक दिएर राहत वितरण गर्न सुरु गरे ।

डोटीको पुर्बीचौकी गाउँपालिका केन्द्र बिन्दु भएर गएको भकम्पबाट प्रभावित भएकाहरुको क्षती संकलन गरीसकिए पछि डडेल्धुरासहित डोटी, अछाम, बाजुरा बझाङ जिल्लाका भूकम्पबाट क्षती पुगेका स्थानीयहरु लाई स्थायी आवास निर्माण र घर मर्मतका लागि राहत वितरण गरिन थालिएको छ । निजि आवास प्रबलीकरण, पुनर्निर्माण गर्नकालागि राहत बितरण सुरु गरिएको हो ।

गृहमन्त्री लेखकले भूकम्पबाट प्रभावितहरुको स्थायी आवास पुनर्निर्माणका लागि रकमको कमी नहुने बताउनुभयो । डडेल्धुरा जिल्लामा भूकम्प प्रभावित नागरिकहरूको निजी आवास पुनर्निर्माणको पहिलो किस्ता रकम हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले पुनर्निर्माण कार्यकालागि आवश्यक बजेट व्यवस्थापन गरिएको बताए ।

उनले मापदण्ड र नियमावली बनाउन ढिलाई भएका कारण स्थायी आवास निर्माणको काममा केही ढिलाई हुन पुगेको भएपनि अब काम अगाडी बढेको बताए । विस्तृत क्षति आंकलन र निजी घरहरुको पुनर्निर्माण एवं पुनःथापनाका लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएकाले जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट नीजी घरहरुमा भएको क्षति आंकलन गर्ने काम अगाडि बढ्नुकासाथै पुनर्निर्माण र पुनःथापनाको काम अगाडि बढेको बताए ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखीम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालले निजी आवास पुनर्निर्माणका लागि चार लाखसम्म र मर्मतका लागि एक लाखसम्म रकम प्रदान गरिने व्यवस्था रहेको बताए ।

डा. भुसालले भूकम्प प्रभावित नौ हजार चार सय घरधनीहरूको स्थायी आवास निर्माणकालागि रकम वितरणको काम थालिएको र पहिलो किस्ताको वितरणपछि प्राविधिक निरीक्षणपछि दोस्रो किस्ता निकासी हुने बताए । भूकम्पपछिको पुनर्निर्माण र पुनःथापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनःथापना आयोजना कार्यान्वयन इकाइको कार्यालय खोलिने योजना बनाइएको उनले जानकारी दिए ।

२०७९ कार्तिक २२ गते डोटी केन्द्रबिन्दु भएर गएको भुकम्पका कारण डडेल्धुराका ६ वटा पालिकामा क्षति पु¥याएको थियो । जसअन्तरगत पुनर्निर्माण तर्फ २६ घर, प्रवलिकरण तर्फ ५२ घर गरी ७८ घरमूली लाभग्राही रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानले जानकारी दिए ।