काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हिमालहरु मानव जातिका साझा स्रोत भएका बताएकी छन । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा पहिलोपटक आज यहाँ आयोजित ‘सगरमाथा संवाद’को उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उनले हिमाल करोडौँ मानिसको ताजा पानीको स्रोत बनेको बताईन ।
हिमालयले आज जलवायु प्रेरित अवरोधको सबैभन्दा ठूलो भार बोकिरहेको बताउँदै उनले हिमनदी जलवायुको असरका कारण पग्लिने क्रम तीव्र रुपमा बढेको उल्लेख गरिन । यसले गर्दा हिमाली समुदायको दैनिक जीवनमा नकारात्मक प्रभाव परेको उनको भनाइ थियो ।
“जलवायु प्रेरित प्रकोपहरूले मानव अस्तित्व र जीविकोपार्जनको जगलाई नै हल्लाइरहेको छ” उनले भनिन्, “जलवायु परिवर्तनका कारण बाढी र हिमताल विस्फोटले ठूलो विनाश भएको छ । खडेरी डढेलोले मानवलाई अथाह पीडा दिएको छ ।”
मन्त्री डा राणाले यो संवाद मनन र आत्मनिरीक्षण गर्ने अवसर प्रदान गर्ने र हिमालदेखि समुद्रसम्म तथा उत्तरीदेखि दक्षिणी गोलाद्र्धसम्म जलवायुजन्य विपत्ति रोक्ने प्रयास भएको बताईन । उनले नाजुक हिमाली पारिस्थितिक प्रणाली भएको देश नेपालले जलवायु परिवर्तनको मार खेपिरहेको जानकारी गराईन ।
“हाम्रा नदी, वन र हिमालहरूको सचेत संरक्षकको रूपमा, हामीले पृथ्वीको स्वास्थ्यमा आफ्नो क्षमताभन्दा बढी योगदान गरिरहेका छौं । तर, हामी जलवायु परिवर्तनका नकारात्मक असरहरूको भारी र असमान बोझ सामना गर्न बाध्य छौँ”, मन्त्री डा राणाले भनिन् ।
स्थानीय समुदायहरूले जलवायु परिवर्तनको विरुद्धमा कडा सङ्घर्ष गरिरहेका अविश्वसनीय उदाहरणहरू रहेको बताउँदै उनले तिनीहरूको स्थानीय ज्ञान र जीवनको अनुभवलाई पहिचान र महत्त्व दिनु, अनुकूलनशील रहेकामा जोड दिईन । अन्तराष्ट्रियस्तरमा सरकार, सरोकार निकाय र नागरिक समाजबीचको सहकार्य बिना हुन नसक्ने उनको भनाइ थियो ।
नेपालले सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य हासिल गर्न प्रतिबद्धता जनाएको छ । जलविद्युत्, ऊर्जाको स्वच्छ रूप, नेपालको बिजुलीको सबैभन्दा ठूलो स्रोत बनेको छ । नेपालद्वारा अग्रणी प्राकृतिक स्रोत व्यवस्थापन कार्यक्रम, सामुदायिक वनले नेपाललाई आफ्नो वन क्षेत्रलाई उल्लेखनीय रूपमा बढाउन मात्र मद्दत गरेको छैन, तर विश्वभरि सहभागी संरक्षणको मोडेलको रूपमा पनि देखा परेको मन्त्री डा राणाले बताईन । रासस












