डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री सरस्वती खड्काले खोपले सर्ने रोगहरुबाट मात्रै नजोगाई नसर्ने रोगहरुबाट समेत जोगाई रहेको बताएकी छन । शनिबार डडेल्धुरालाई पूर्ण सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा बोल्दै उनले पहिले सरुवा रोगको रोकथामका लागि खोप जीवन रक्षक बनेको भए पनि हाल नसर्ने रोग जस्तै महिलाको पाठेघरको मुखको क्यान्सरबाट जोगिन खोप अनिवार्य भएको उल्लेख गरिन । गत वर्ष देखि डडेल्धुरामा पनि एचपिभि खोप लगाईएको छ । यस कारण सरुवा त भईनै हाले नसर्ने यस्ता रोगहरुबाट प्राण जोगाउन खोप लगाउनु अनिवार्य छ ।
कार्यक्रमका प्रमुख अतिथि रहेकी राज्यमन्त्री खड्काले सामाजिक विकास मन्त्रालयले स्वस्थ्य रहनाका लागि नयाँ आर्थिक वर्षमा स्वास्थ्यलाई एक घण्टा नारा लिई रातो किताबमा योजना समेटेको जानकारी दिईन । व्यस्ताताको जीवनमा कम्तिमा पनि एक घण्टा, ध्यान, साधना, योग वा कुनैपनि कसरत, व्यायम अनिवार्य रुपमा लागु गर्ने उद्देश्यकासाथ स्वास्थ्य लाई एक घण्टा नारा कायम गरिएको उनले बताईन ।
सुदूरपश्चिमका सात पहाडी जिल्लाहरु मध्ये डडेल्धुराका स्थानीयको स्वास्थ्य उपचारका क्षेत्रमा पहुच बढेको उनको भनाई थियो । जिल्ला सदरमुकाममा संघिय सरकार मातहतको डडेल्धुरा अस्पताल र भित्रिमधेशको जोगबुडामा रहेको जोगबुडा अस्पताल हालै मात्र प्रदेशिक अस्पतालका रुपमा विकास गरिएकाले स्वास्थ्य उपचार क्षेत्रमा यहाँका नागरिकको स्वास्थ्यमा पहुच बृद्धि भएको उनले बताईन ।
हाल तीनै तहका सरकारले स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार निर्माणका काममा बढी ध्यान दिएको उल्लेख गर्दै उनले निर्वाचित जनप्रतिनिधिहरुले अझै दत्तचित्त भएर जनताको सेवाका लागि काम गर्न आग्रह गरिन ।













