युवाको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔँः परराष्ट्रमन्त्री डा. देउवा

Image

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युवा वर्ग देशको ठूलो पुँजी भएकाले उनीहरुको ऊर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताएकी छन ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणको आधार भनेको युवा शक्ति नै भएकाले उनीहरुप्रति नै देशले भर गरेको बताईन ।

नेपालको जनसङ्ख्याको ठूलो हिस्सा युवा रहेकाले यही वर्गले नै मुलुकको भविष्य निर्माणमा ठूलो योगदान गर्न सक्ने उनको भनाइ छ । युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्नेमा उनले जोड दिईन ।

मन्त्री डा. राणाले युवा सबै विदेश गए, देश नै खाली भइसक्यो भन्ने जस्तो भाष्य निर्माण गरिएको प्रसङ्ग उल्लेख गर्दै भनिन्, “म युवा विदेश जानै हुँदैन भन्ने पक्षमा छैन । म भन्छु यहाँहरु विदेश जानुस्, तर त्यहाँ ज्ञान, सीप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुस् । हाम्रै माटोलाई समृद्ध बनाउनु पर्छ । सबै मिलेर देशको विकास गर्नुपर्छ।”

स्वदेश फर्किएका कैयौँ युवाले विदेशमा आर्जन गरेको पुँजी र ज्ञान प्रयोग गरेर उद्यमशीलतालाई अघि बढाएको बताउँदै मन्त्री डा. राणाले युवाको यो अग्रसरतामा सरकारको सधैँ साथ र सहयोग रहने स्पष्ट गरिन ।