भागेश्वरको बगरकोटमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण

Image

डडेल्धुरा । भागेश्वरको बगरकोट जिल्ला सदरमुकाम बागबजारको पश्चिम तर्फ १४ किलोमिटरको मात्रै दुरीमा अवस्थित भए पनि दुर्गम वस्तिहरु संग जोडिए छ । भागेश्वर गाउँपालिकाको अस्थाई मुकामसमेत रहेको वडा नं. ४ बगरकोटमा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण गरिएको छ ।

सात करोड बढी रुपैयाँ लागतमा निर्माण गरिएको भवनबाट सेवा शुचारु भए सेवा प्रवाहमा निकै सहज हुने भागेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मीको अपेक्षा छ । यस अघि यहाँ निर्माण गरिएको स्वास्थ्य चौकीको भवनको छत चुहिने भई सकेको थियो । पर्याप्त कोठाहरु नहुदा सेवा प्रवाहमा असहजता हुदा सेवाग्राहीले पनि समस्या मोल्नु परेको स्वास्थ्य शाखा अधिकृत मान बहादुर शाहुले बताए ।

उनका अनुसार दुई तले भवनको पहिलो तलामा नौ वटा कोठा र माथिल्लो तलामा २४ घण्टा सेवा दिने स्वास्थ्यकर्मीका लागि दुई वटा आवासका कोठा छन । विरामीहरुका लागि तल्लो तलाको छेउमा शैचालयसंगै फाहोर व्यवस्थापनको लागि डम्पिंग साईडसमेत निर्माण गरिएको छ ।

नवनिर्मित भवनबाट सेवा प्रारम्भ भए स्वास्थ्य चौकीबाट दिईने प्रतिकारात्मक, प्रबद्र्धनात्मक र उपचारात्मक सेवा २४ सै घण्टा पाउनुकासाथै फराकिलो र सफा भवन भित्रका अलग अलग कक्षहरुबाट सेवाग्राहीले सेवा पाउने उनले बताए । यससंगै चुहिने घरको साँधुरा र अपुग कक्षबाट ठेलमठेल गरि सेवा दिनु पर्ने बाध्यताको अन्त्य हुने उनको विश्वास छ ।

यस स्वास्थ्य चौकीबाट वार्षिक सरदरमा तीन हजार बिरामीले सेवा लिने गरेका छन । उनले भने, सिमिति स्रोत साधनमा सक्दो गुणस्तरिय सेवा प्रवा गर्ने कोसिश गरिरहेका हुन्छौ । गाउँपालिकाले वार्षिक ३८ लाख रुपियाँसम्म बजेट स्वास्थ्य शाखाका लागि छुट्याउने गरेको छ । शिविरहरु आयोजना भए थप रकम उपलब्ध हुने गरेको छ ।

भागेश्वर गाउँपालिकामा गत वर्ष सरकारले उपलब्ध गराउने स्वास्थ्य उपचार खर्च उपभोग गर्ने ११ जना रहेको उनले बताए । उनका अनुसार क्यान्सर, मृगौला प्रत्यारोपण, डायलासिसलगायत दिर्घ रोगीलाई सरकारले मासिक रुपमा उपलब्ध गराउने पाँच हजार रुपियाँ पाउनेहरु ११ जना छन । गाउँपालिकाले गत वर्ष शल्यक्रियासहित आँखा शिविर, स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

यस वर्ष विद्यालयहरुमा एकिकृत स्वास्थ्य शिविरको आयोजना गर्ने कार्यक्रमहरु रहेको उनले जानकारी दिए । पालिकाले विनियोजन गर्ने रकमबाट औषधी खरिदसंगै गर्भवती आमाहरु लाई कोसेली, खोप ढुवानी, शिविरको आयोजना, स्वास्थ्य कर्मीहरुको बैठक भत्ता, संचारलगायतमा खर्च हुने गरेको छ ।

जर्मन विकास बैंक केएफडब्लुको अनुदान भ्याट रकमसहित सात करोड १७ लाख ६२ हजार रुपियाँ लागतमा आधुनिक भवन निर्माण गरिएको भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतले जानकारी दिए । उनका अनुसार जर्मन प्रबिधिबाटै स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । ग्रामिण क्षेत्रमा शिशु स्याहार र मातृत्व सुधारका लागि स्वास्थ्य चौकीको भवन निर्माण गरिएको उनले बताए ।

उनका अनुसार भागेश्वरको ग्रमिण क्षेत्र रुपालमा पनि १० शैय्याको अस्पताल निर्माणको काम जारी छ । भागेश्वर गाउँपालिका वडा नं. २ मा पर्ने रुपाल क्षेत्र भारतिय सिमाना काली नदीसंग जोडिएको क्षेत्र हो । बगारकोटसम्म सडक कालोपत्रे भएपनि त्यस उता साँघुरो ग्रामिण कच्चिसडक छ ।

रुपालबाट जिल्ला सदरमुकाम पुग्न करिब पाँच घण्टाको यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए । भागेश्वर गाउँपालिकाको रुपाल, वडा नं. ३ को बोगटा र बगरकोटमा गरि हाल तीन वटा स्वास्थ्य चौकीहरु रहेको उनले बताए ।